राजर्षी जनक कपको उपाधी हेटौंडाको पिप्ले युवा क्लबको पोल्टामा
चैत, हेटौंडा – सर्लाहीमा भएको पाँचौ राजर्षी कप फुटबल प्रतियोगितामा आयोजक बागमती नगरपालिकालाई हराउँदै हेटौंडाको पिप्ले युवा क्लवले उपाधी जितेको छ ।
सोमबार सम्पन्न भएको उपाधी भिडन्तमा निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि पिप्लेले सडनडेथबाट उपाधि जितेको हो । पिप्लेले आयोजकलाई सडनडेथमा ५–४ गोल अन्तरले हराएको हो ।
बिजेता पिप्लेले ट्रफी सहित नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गर्दा आयोजक टिमले ५ लाख ५ सय रुपैयाँमै चित्त बुझायो । पिप्लेको तर्फबाट सडनडेथमा कप्तान शाहिद, राजेन्द्र रावल, समिराज थोकर, फोफोना र ग्लोरीले गोल गरेका थिए ।
फाइनल खेलमा पिप्लेका ग्लोरी म्यान अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बागमतीका अरुण ब्लोन, डिफेन्डर पिप्लेका शाहिद मिडफिल्डर पिप्लेकै राजेन्द्र रावल, सर्वाधिक गोलकर्ता बागमतीका स्टेफन समीर र उत्कृष्ट प्रशिक्षक पिप्लेका सुबिन घिमिरे घोषित भए । उनीहरुले नगद २० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका बागमतीका विजय घलानले ५१ हजार रुपैयाँ प्राप्त गर्दा सर्लाही उदयीमान खेलाडी घोषित हुँदै सर्लाहीको गोलरक्षक अरुण ब्लोनले पल्सर मोटरसाइकल प्राप्त गरे ।