१४ बुँदे हेटौंडा घोषणा पत्र पारित गर्दै प्रेस संगठन बागमती प्रदेशको दोस्रो भेला सम्पन्न

तामसालिङ खबर
१७ फाल्गुन २०७७, सोमबार २२:४०

फाल्गुन, हेटौडा – प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेलाले १४ बुँदे हेटौंडा घोषणा पत्र पारित गरेको छ । नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् प्रेस संगठन नेपालका सह-इञ्चार्ज तथा संयोजक महेश्वर दाहाल, नेकपा केन्द्रीय सदस्य एवम् सह-इञ्चार्ज ओम शर्मा र नेककपा केन्द्रीय सदस्य एवम् सह-इञ्चार्ज, विष्णु रिजालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सांसद तथा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, सांसद प्रेम बहादुर पुलामी, प्रेस संगठन नेपालका सह-संयोजकहरु विश्वमणि सुवेदी, विष्णु सापकोटा, महासचिव राजेश राई मनोज घर्ती, संगठनको बागमती प्रदेश इन्चार्ज रामकुमार एलन लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संगठनका प्रदेश संयोजक सुनिल खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

हेटौंडा घोषणा पत्र
२०७७ फागुन १७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेला प्रदेश संयोजक सुनिल खड्काको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य, प्रेस संगठन नेपालका इन्चार्ज योगेश भट्टराइको प्रमुख आतिथ्यता, सहइन्चार्ज ओम शर्मा, विष्णु रिजाल, प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहाल एवम् अन्य विशिष्ट अतिथिको उपस्थितिमा सम्पन्न भेला निम्न प्रस्ताव पारित गर्दै हेटौंडा घोषणा पत्र जारी गर्दछ ।
१, आमूल परिवर्तनका लागि जीवन बलिदान गर्नेे, पत्रकारिता क्षेत्रका महान शहिद कृष्ण सेन इच्छुकलगायत सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवर्तनका लागि बलिदान, त्याग, तपस्या गर्ने वीरहरुप्रति यो भेला हार्दिक सम्मान व्यक्त गर्दछ ।
२, प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने भनी गरेको ऐतिहासिक फैसलाको यो भेला स्वागत गर्दै लोकतन्त्र र संविधानको रक्षा गरेको ठहर गर्दछ । सर्वोच्चले स्पष्ट आदेश जारी गरिसक्दा पनि यो वा त्यो बहानामा टार्ने र आफैँले समाप्त गर्न खोजेको प्रतिनिधिसभालाई अहिले पनि खेलाँची सम्झी प्रतिगमनलाई निरन्तरता दिन खोज्ने प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा तत्काल राजीनामा गर्न यो भेला जोडदार माग गर्दछ ।
३, प्रेस तथा अभिव्यक्ति स्तन्त्रता नियन्त्रण गर्ने उद्धेश्यले सरकारले ल्याउने तयारी गरेको सामाजिक सञ्जाल नियन्त्रण सम्बन्धी निर्देशिका नल्याउन यो भेला जोडदार माग गर्दछ ।
४, सरकारले गरेका पुस ५ गते पछिका प्रदेश न. २ प्रमुखको नियुक्ति लगायतका सबै नियुक्ति र निर्णय अवैधानिक ठहर गर्दै बदर गर्न माग गर्दछ । सञ्चार संघसंस्थासँग सम्बन्धित कुनै पनि नियुक्ति गर्दा स्वतन्त्र र निष्पक्ष बनाउन यो भेला आग्रह गर्दछ ।
५, बागमती प्रदेशसभाले निर्माण गरेको सञ्चार माध्यम व्यवस्थापन सम्बन्धी विधेयक र स्थानीय तहहरुले निर्माण गरेको सञ्चार सम्बन्धी विधेयकमा रहेको प्रेस विरोधी प्रावधानहरु हटाउन यो भेला माग गर्दछ । प्रदेश र स्थानीय तहमा सञ्चारसम्बन्धी कानुन बनाउँदा सञ्चार क्षेत्रसँग समन्वय गर्न यो भेला जोडदार माग गर्दछ ।
६, देशमै सबैभन्दा धेरै सञ्चारमाध्यम र पत्रकार रहेको बागमती प्रदेशमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरे बमोजिमको पारिश्रमिक अधिकांश मिडियाहरुले हालसम्म पनि उपलब्ध नगराएको गुनासो पत्रकारहरुबाट आइरहेकाले तोकिएकोप्रति सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउँदै समयमै पारिश्रमिक उपलब्ध गराउन यो भेला सम्पूर्ण सञ्चार गृहमा अपिल तथा आग्रह गर्दछ ।
७, समाचार लेखेकै विषयलाई लिएर पत्रकारहरुलाई जनप्रतिनिधि, व्यवसायी, कर्मचारी, विभिन्न राजनीतिक दलका नेताहरु र अन्य विभिन्न पक्षबाट धम्की र मानिसक यातना दिने काम भइरहेकोप्रति दु:ख व्यक्त गर्दै पत्रकारहरुको व्यक्तिगत तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर्न सरकार एवम् सरोकारवाला पक्षसँग यो भेला जोडदार माग गर्दछ । साथै पत्रकारिता क्षेत्रबाट पनि मर्यादित पत्रकारिताका लागि यो भेला सबै पत्रकारहरुलाई आव्हान ग्र्दछ ।
८, प्रदेशभित्रको सञ्चारमाध्यम नियमित गर्न प्रदेश स्तरमा नै प्रेस काउन्सिल गठन गर्न यो भेला माग गर्दछ ।
९, प्रदेश तथा स्थानीयस्तरमा सञ्चालित सञ्चार माध्यमको विकास एवम् प्रवर्द्धनका लागि प्रदेश सरकारद्वारा बजेटको व्यवस्थापन हुने गरी प्रदेशस्तरीय मिडिया विकास कोष स्थापनाको लागि यो भेला माग गर्दछ ।
१०, पत्रकारको क्षमता अभिवृद्धि र यस सम्बन्धी अध्ययन अनुसन्धानका लागि प्रादेशिक आम सञ्चार प्रतिष्ठान गठन गर्न यो भेला माग गर्दछ ।
११, प्रदेश र जिल्लास्तरका सरकारी सूचना सम्बन्धित क्षेत्रभित्रकै सञ्चारमाध्यमलाई समानुपातिक रुपमा उपलब्ध गराउन यो भेला माग गर्दछ । साथै समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने कार्यका लागि विज्ञापन व्यवस्था बोर्ड तत्काल गठन गर्न माग गर्दछ ।
१२, समाजवादी विचार निर्माण र सम्प्रेषणको कामलाई प्रभावकारी बनाउन यो भेला प्रण गर्दछ । पार्टीका काम कार्यमा सहयोगी भूमिका निर्वाह गर्न यो भेला प्रतिवद्धता व्यक्त गर्दछ । साथै, नेपाल र नेपालीको पक्षमा कलम चलाउँदै राष्ट्रियता, जनजीविका र जनतन्त्रको पक्षमा कलम चलाउन यो भेला आग्रह गर्दछ ।
१३, आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा संघीयता र लोकतान्त्रिक पक्षधर एवम् जनपक्षीय पत्रकारहरुसँग सहकार्य गर्न प्रतिबद्धता जाहेर गर्दछ । .
१४, प्रेस संगठनको प्रदेश भेला सम्पन्न पार्न भूमिका खेल्नु भएका सबैप्रति धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथि माननीय योगेश भट्टराई, नेकपाका नेता गण र प्रेस संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालसहितका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यालय र केन्द्रीय सदस्यहरु, संगठनका सदस्यहप्रति आभार व्यक्त गर्दछ ।
धन्यवाद ।

२०७७ फागुन १७ हेटौंडा ।
रामकुमार एलन,(इन्चार्ज)
सुनिल खड्का, (संयोजक)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*