माउन्टेन फ्लाइटमा यात्रुको ओइरो, यतीले हप्तामा २ दिन उडान गर्ने

तामसालिङ खबर
४ पुष २०७७, शनिबार ०६:३३

पुस, काठमाण्डाै – सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यावलोकन गर्न पाउने पर्वतीय उडान अर्थात माउन्टेन फ्लाइटमा यात्रुको आकर्षण बढेको छ ।

कोरोना महामारीकै बीचमा मंसिर २० गतेदेखि सञ्चालनमा आएको माउन्टेन फ्लाइटमा आज एकै दिन ८ वटा उडान भएको त्रिभुवन विमानस्थलले जनाएको छ । आज बुद्ध एअरका ५ वटा र यती एअरलाइन्सका ३ वटा माउन्टेन फ्लाइट भएका छन् । उडानमा विदेशी यात्रु न्यून भए पनि आन्तरिक यात्रु भने भरिभराउ भएको एअरलाइन्सले जनाएका छन् ।

नेपाली यात्रुलाई लक्षित गर्दै बुद्ध र यती एअरलाइन्सले एक टिकट खरिदमा अर्को सित्तैमा दिने अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ ।

यसैबीच यती एअरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै हप्तामा दुई दिन पर्वतीय उडान गर्ने भएको छ । अहिले शनिबार मात्र पर्वतीय उडान गर्दै आएको यतीले हरेक आइतबार पनि उडान गर्ने भएको हो ।

यती एअरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको माग बमोजिम हरेक शनिबार र आइतबार पर्वतीय उडान गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*