मोरङमा दसैं लक्षित निषेधाज्ञा
कार्तिक, विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारबाट लागू हुने गरी जिल्लाभर दसैं लक्षित निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण चाडपर्वमा झन् तीव्र रुपमा फैलिने अवस्थालाई मध्यनजर गर्दै आइतबार सम्पन्न सुरक्षा समितिको बैठकबाट निर्णय गरेर प्रशासनले निषेधाज्ञा लगाएको हो।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आम सर्वसाधारणलाई सजग गराउन र चाडपर्वमा हुने अनेक गतिविधिका कारण कोरोना फैलन नदिन निषेधाज्ञा जारी गरिएको जानकारी दिए।
उनका अनुसार निषेधाज्ञा सोमबार (कात्तिक ३) बाट आगामी १५ गतेसम्म जारी रहनेछ। निषेधाज्ञको अवधिमा मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक सिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाइएको निरौलाले बताए ।
उनका अनुसार जिल्लाभर राति ८ बजेबाट बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीकाबाहेक अन्य सवारीको आवतजावतमा रोक लगाइएको छ ।
जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा आन्तरिक नित्य पूजा, प्रार्थनाबाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बलि पूजा, मूर्ति बिर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको हो।
तर प्रशासनले दसैंका लागि घर आउने र जानेलाई भने रोक लगाएको छैन । आदेश उल्लंघन नगर्न आग्रह गर्दै प्रशासनले उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कुरामा अवरोध गर्नेलाई कारवाही गरिने प्रजिअ निरौलाले बताए।