देउवाविरुद्ध पौडेल पक्षको हस्ताक्षर
असोज, काठमाण्डौ – कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक मामिलामा ध्रुवीकरण बढाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्य समितिमा विरोधपत्र दर्ता गराउने तयारी गरेको छ ।
विरोधपत्र दर्तापश्चात् पनि निर्णय नसच्याए संघर्षका कार्यक्रममा उत्रने चेतावनी पौडेल पक्षको छ । नेतृत्वले लिएका विधानविपरीतका निर्णय, निर्देशन र गतिविधिका विवरण समावेश गरी पौडेल पक्षले तयार पारेको विरोधपत्रमा संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरिरहेका छन् ।
ध्रुवीकरणको आडमा विधि, प्रक्रिया र कार्यविधि मिच्दै देउवाले महाधिवेशनबाट आफ्नै नेतृत्वलाई निरन्तरता दिन खोजेको निष्कर्ष पौडेल पक्षको छ । पौडेलपक्षीय केन्द्रीय सदस्य गुरु घिमिरेका अनुसार सबै केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित विधानविपरीतका निर्णय सच्याउन माग गर्दै छिट्टै विरोध दर्ता हुनेछ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उनको पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई समेत हस्ताक्षर गराउन पहल भइरहेकाले दर्ता गराउन ढिलाइ भएको उनले बताए । ‘पत्र तयार भइसकेको छ । नेताहरूले अहिले छलफल गरिरहनुभएको छ,’ उनले भने ।
यो अभियानमा सिटौला पक्षमा रहेका केन्द्रीय सदस्य गगनकुमार थापा र प्रदीप पौडेल सुरुदेखि नै संलग्न छन् । नेता सिटौलाले भने ‘रिजर्भेसन’ राख्दै आएका छन् । उनी संस्थापन र पौडेल पक्ष कतै जोडिन चाहेका छैनन् । मुद्दामा सहमति भए पनि हस्ताक्षर गरेर अघि बढ्दा पौडेल पक्षमा गएको सन्देश जान सक्ने सिटौलाको बुझाइ छ ।
पार्टीभित्र नयाँ ध्रुवीकरण र समीकरणका सम्भावनासमेत देखिरहेका सिटौलाले केही समयसम्म आफ्नो समूहलाई ‘इन्ट्याक्ट’ राखेर अघि बढ्न चाहेका छन् । उनलाई मनाउन थापा र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले कोसिस गरिरहेका छन् । सिटौला मञ्जुर नभए थापा र पौडेलले समेत हस्ताक्षर नगर्ने सम्भावना छ ।
सिटौला पक्षमा रहेका केन्द्रीय सदस्य पौडेलले भने पार्टी विधानविपरीतका काम रोक्न सामूहिक दबाब नेतृत्वमा दिनुपर्ने बताए । ‘अहिलेकै तरिकाले आगामी फागुनमा मात्रै होइन, अर्को ६ महिनापछि पनि महाधिवेशन हुन सक्दैन । पार्टीमा समायोजनको कामसमेत गर्न नखोजेको जस्तो देखिएको छ । कुनै काम पनि अघि बढेको छैन,’ उनले भने, ‘समयमै दबाब नदिने हो भने पार्टी दुर्घटनामा पुग्ने सम्भावना छ ।’
पार्टी केन्द्रीय कार्यालयमा दर्ता गर्न ठिक्क पारिएको पत्रमा सिटौलासहित उनी पक्षीय केन्द्रीय सदस्यहरू थापा, पौडेल र उमाकान्त चौधरीको समेत नाम छ । झापामा रहेका सिटौला सहमत नभए पौडेल पक्षमा रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको मात्रै हस्ताक्षर गराएर पत्र दर्ता गराउने तयारी छ । केन्द्रीय कार्यसमितिमा पौडेल पक्षका पदाधिकारीसहित २७ जना छन् । यो समूहले उसले तत्कालीन सभापति सुशील कोइरालाले लिएको बाटो स्मरण गर्न देउवालाई आग्रह गरेको छ ।
कोइरालाले कार्यकालको तीन वर्षमा केन्द्रीय विभाग गठन गर्दा संस्थापनइतर पक्षमा रहेका देउवाले चर्को विरोध गरेका थिए । आफ्नो पक्षका केन्द्रीय सदस्यहरूलाई विभाग प्रमुखबाट राजीनामा दिन लगाएका थिए । पछि कोइरालाले निर्णय फिर्ता लिए ।
१३ औं महाधिवेशन अघि विधान, पद्धति र परम्पराको पालना गर्न आग्रह गर्दै देउवाले आफैं केन्द्रीय कार्यसमितिबाट राजीनामा दिनुका साथै रिले, आमरण अनशन र धर्नाका कार्यक्रम राखेका थिए । अहिले त्यही खालको विवाद पुनरावृत्ति भएको छ । ‘सभापतिज्यू, अरूमाथि आफैंले लागू गराएको नियम आफूमाथि चाहिँ लागू हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्युत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ,’ कान्तिपुरलाई प्राप्त पौडेल पक्षको पत्रमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।
Leave a reply