सासंद खतिवडाको पहलमा परेवाभीरमा २ करोड बिनियोजन
भदौ, हेटौडा (राक्सीराङ) – मकवानपुरको मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अबरोध मानिएको परेवाभीर खण्डमा व्यवस्थित सडक निर्माणका लागि संघीय सरकारको तर्फबाट दुई करोड रुपियाँ बिनियोजन भएको छ ।
मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको पहलमा परेवाभीर खण्डको सडक निर्माणका लागि अर्थ मन्त्रालयले २ करोड रुपियाँ बिनियोजन गरेको हो । मन्त्रालयले परेवाभीर खण्डमा बाटो बनाउनका लागि राक्सिराङ गाउँपालिकाका लागि ससर्त अनुदानको रुपमा २ करोड रुपियाँ उपलब्ध गराउने भएको हो ।
आधिकारिक पत्र लेखेर मन्त्रालयले राक्सिराङ गाउँपालिकाले ससर्त अनुदानको रुपमा रकम उपलब्ध गराउने ग्यारेन्टी गरेको सांसद बिरोध खतिवडाले जानकारी दिनुभयो । ६ करोड ६१ लाख ६९ हजार लागत लाग्ने परेवाभीर खण्ड निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक बर्षमा बजेट कार्यान्वयन हुने गरी बहुबर्षीय ठेक्का आह्वान गरिसकेको छ ।
अब थप दुई करोड रुपियाँ संघीय सरकारको समेत थपिएपछि परेवाभीर खण्ड अर्को आर्थिक बर्षसम्ममा निर्माण भइसक्ने अपेक्षा गरिएको छ । मनहरी–मलेखु जोड्का लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै नयाँ सडकको परिकल्पना गरिएको छ । प्रदेश सरकारले पनि यो खण्डलाई पुष्पलाल चक्रपथ नाम दिएर बजेट बिनियोजन गरेको छ ।
परेवाभीर खण्डमा बजेट हाल्न नसकिने भएकाले बिकल्प खोजिने भन्दै प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले सार्बजनिक अभिव्यक्ति दिएपछि विवाद बढेको थियो ।