सुरक्षाकर्मीको तलबभत्ता रोकियो

तामसालिङ खबर
२१ भाद्र २०७७, आईतवार ०९:३६

काठमाडौं – कोरोना संक्रमणका बेला अग्रपंक्तिमा खटिने तीनै सुरक्षा निकायको तलब रोकिएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले साउनको तलब आउन ढिलाइ भएको बताएका छन्।

‘साउन महिनाको तलब आउन ढिलाइ भएको हो’, प्रवक्ता कडायतले भने, ‘नयाँ सफ्टवेयरमा डाटा इन्ट्री गर्नुपर्ने भएकाले ढिलाइ भएको बताइएको छ। तलब समयमा नआएकाले कर्मचारीबाट गुनासो आएको छ।’

सशत्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले पनि कोेभिडमा खटिने जनशक्तिको भत्ता र साउनको तलब रोकिएको बताए। ‘साउन महिनाको तलब ढिलाइ भएको हो’, प्रवक्ता अर्यालले भने, ‘कोभिड भत्ता पनि सुरुबाटै आएको छैन।’ सरकारले अग्रपंक्तिमा खटिने सुरक्षा निकायलाई कोभिड भत्ता दिने घोषणा गरेको थियो।

पीपीई लगाएरै खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत, क्वारेन्टाइन, आइसोलेसनमा खटिने सुरक्षाकर्मीलाई ५० प्रतिशत र सीमा लगायत अन्य क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई दिनको ३ सय रुपैयाँका दरले भत्ता दिइने बताइएको थियो। चार महिना बितिसक्दा पनि नपाएको डीआईजी अर्यालले बताए।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले पनि सेनाको तलब रोकिएको बताए। सफ्टवेयरमा प्रत्येक व्यक्तिको प्यानसहितको डाटा इन्ट्री गर्नुपर्ने भएकाले ढिलाइ भएको जानकारी गराइएको प्रवक्ता पौडेलले सुनाए। ‘नेपाली सेनाको पनि तलब र कोभिड भत्ता आएको छैन’, उनले भने, ‘सफ्टवेयरमा इन्ट्री गरिसकेर मात्रै आउने बताइएको छ। समयमा तलब नआउँदा समस्या भएको छ। यसबारे हामीले नेपाल सरकारलाई ध्यानाकर्षण गराइसकेका छौं।’

महालेखा परीक्षक कार्यालयका प्रवक्ता जानेन्द्र पौडेलले नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइरहेकाले केही ढिलाइ भएको स्वीकार गरे। ‘हामीले सरकारले दिने तलब भत्तालाई व्यवस्थित गर्न नयाँ सफ्टवेयर निर्माण गरेका हौं’, प्रवक्ता पौडेलले भने, ‘सफ्टवेयरमा केही अप्ठ्यारा थिए जसले ढिला भयो। साथीहरूले १८ घण्टासम्म काम गरिरहनुभएको छ।’

काम पारदर्शी बनाउन र डाटा रिपोर्टिङमा सुधार गर्न नयाँ सफ्टवेयर ल्याइएको उनको भनाइ छ। ‘हामीले कुनै नियोजित ढंगले ढिलाइ गरेका छैनौं’, उनले भने, ‘तलब भत्तालाई पारदर्शी बनाउन लागेका हौं। त्यसका लागि केही समय लागेको हो।

अहिले काम सकिन लाग्यो।’ नयाँ सफ्टवेयरमा प्रत्येक व्यक्तिको सबै व्यक्तिगत विवरण, प्यानलगायत विवरण राख्नुपर्छ। नेपाली सेना १ लाख, नेपाल प्रहरी ७५ हजार र सशस्त्र प्रहरी २८ हजार छन्।

तीनै निकायका २ लाख हाराहारी संख्याको डाटा इन्ट्री गरिसक्नुपर्ने भएकाले यो समस्या भएको उनले बताए। उनका अनुसार सफ्टवेयर लागू भइसकेपछि भने सबैको तलबभत्ता विद्युतीय प्रणालीबाट ट्रान्सफर हुनेछ । आजको अन्नपूर्ण पोस्ट मा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*