कोरोना संक्रमण बढेसँगै १२ जिल्लामा ‘निषेधाज्ञा’ जारी

तामसालिङ खबर
२१ श्रावण २०७७, बुधबार १८:३९

साउन, काठमाडौं – कोरोना भाइरसको सं‌क्रमण रोकथाम र नियन्त्रण गर्न झण्डै चार महिना गरिएको लकडाउन अन्त्य भए सँगै मानिसको चहलपहल बढेपछि संक्रमणको जोखिम पनि बढेको छ ।

कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन अहिलेसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।

जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*