बालगृहमा आश्रित ११ जना बालिकाको उद्धार

पत्रपत्रिकाबाट
२२ श्रावण २०७७, बिहीबार ०८:११

साउन, काठमाडौंं – असहाय, टुहुरा र बेवारिसे बालबालिका संरक्षणका नाममा कपनस्थित केयर बालगृह सञ्चालकले आर्थिक लाभ लिएको जनगुनासोका आधारमा बुधबार बालगृहमा आश्रित ११ जना बालिकाको उद्धार गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त प्रयासमा ती बालिकाको उद्धार गरी अभिभावक हुनेहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । अभिभावक नभएकालाई हिमाली नवीन समाजको संरक्षणमा राखिने भएको छ ।

सो बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले केही दिनअघि एक नवजात शिशु बेवारिसे अवस्थामा चौरमा भेटिएको झुटो प्रचार गरी सहयोगस्वरूप छ लाख रुपियाँ सङ्कलन गरेको घटना बाहिर आएपछि बालबालिका उद्धार गरिएको हो ।

बाल अधिकार परिषद्की कार्यक्रम अधिकृत नमुना भुसालले संरक्षणका नाममा असहाय, टुहुरा र बेवारिसे बालिकालाई मागी खाने भाँडो बनाउने गरिएकाले केयर बालगृहमा आश्रित बालिकाहरूको उद्धार गरिएको स्पष्ट पारिन ।

केही दिनअघि बौद्ध, कपनस्थित धाराचौरमा कार्टुनभित्र सुताएर राखेको अवस्थामा फेला परेको भनिएका बेवारिसे शिशु उद्धारको घटना काल्पनिक भएको तथ्य खुुलेपछि बालगृह सञ्चालकको वास्तविकता खुलेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीले नवजात शिशुकी आमा र बालगृहकी सञ्चालिका अधिकारी बीचको मिलेमतोमा आर्थिक सङ्कलन गर्न शिशुलाई जबरजस्ती बेवारिसे बनाइएकाले कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको बताए ।

शिशु जन्माउने आमा कोरोना भाइरसका कारण बन्दाबन्दीमा खाडी मुलुकबाट उद्धार गरिएकी गर्भवती महिला हुन् । ती महिलाबाट महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा शल्यक्रिया गरी शिशु पैदा भएको बताइएको छ ।

बालगृह सञ्चालिका अधिकारी सँगको सल्लाहमा १३ गते साँझ आमाले नै शिशुलाई कार्टुुनभित्र सुताएर चौर किनारामा राख्ने र अधिकारी लिन जाने नाटक मञ्चन गरिएको पाइएको छ । शिशुकी आमाको नाम भने गोप्य राखिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*