सौराहामा होटल सञ्चालनमा आयो

रासस
१५ श्रावण २०७७, बिहीबार ०७:०५

साउन, चितवन – चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएका छन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिब चार महिनापछि सञ्चालनमा ल्याएका हुन् ।

क्षेत्रीय होटल संघ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायीले सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् ।

होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड -१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने संघले जनाएको छ ।

यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द थिए। सरकारको निर्णयअनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल संई सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*