मनहरी गाउँपालिकाको बजेट पारित
असार, हेटौंडा : मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सर्वसम्मत पारित गरेको छ । गाउँपालिकामा बिहिबार बसेको गाउँसभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय रुपैयाँ बजेट ल्याएको छ ।
गएको असार १० गते गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा बसेको गाउँसभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको उपाध्यक्ष विष्टले जानकारी दिनुभयो ।
उपाध्यक्ष विष्टका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि चालुतर्फ ३१ करोड ५५ लाख ५५ हजार ४ सय २० रुपैयाँ र पुँजिगततर्फ ४४ करोड ६० लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारलाई प्राथमिकतामा राख्नुको साथै गाउँपालिकामा ५ वटा पक्की पुल सम्पन्न गर्न बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाका विभिन्न ५ वटा खोलाहरुले स्थानीयलाई असजिलो भएकोले पुल निर्माण मुख्य आवश्यकता भएको गाउँपालिकाले जनाएको छ ।