नेपालमा आजबाट लकडाउन खुल्यो, तर यी सेवा खुल्न बाँकी

तामसालिङ खबर
७ श्रावण २०७७, बुधबार ०७:५९

साउन, काठमाडौँ – कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार रातिबाट अन्त्य गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार लकडाउन अन्त्यको जानकारी दिएका हुन् । ‘हामीले अब लकडाउन छ भन्नुपरेन । लकडाउनले मनोवैज्ञानिक त्रास दिएको छ,’ उनले भने ।

मन्त्री खतिवडाले स्वास्थ्य सुरक्षा र संक्रमणको जोखिम भने कायमै रहेको बताए । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन, सामाजिक दूरी कायम राख्न, मास्क र सेनिटाइजर प्रयोग गर्न सबैमा आग्रह गरेका छन् । सरकारले लकडाउन लागू गर्दा मुलुकमा दुई जना मात्र कोभिड–१९ संक्रमित थिए ।

मंगलबार बेलुकीसम्म संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ  । यसबीचमा संक्रमणबाट ४० जनाको मृत्यु भएको छ  । १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।

के-के खुल्दै, के-के खुल्न बाँकी 
साउन १५ गतेदेखि केके खुल्ने ?
१. होटल, रेस्टुरेन्ट
२. ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय
तर, सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला अझै गर्न पाइने छैन ।

भदौ १ देखि के-के खुल्ने ?
१. छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र तथा अन्तर जिल्ला सञ्चालन हुने यात्रुबाहक सवारी साधन
२. आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान
३. अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल
४. विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन

अझै खुलेनन् यी क्षेत्र :
१. शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र)
२. सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार
३. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन
४. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल
५. सैलुन, ब्युटीपार्लर तथा स्पा
६. स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब
७. समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९. पुस्तकालय, संग्रहालय र चिडियाखाना

यी सेवा र कार्य सञ्चालन हुन सरकारले अर्को मिति तोक्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*