यसै बर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार अध्ययन हुने

तामसालिङ खबर
१७ असार २०७७, बुधबार ०७:३४

असार, काठमाडौं – यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिनुुभयो । “त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उहाँले भन्नुुभयो ।

कक्षा १ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । त्यसअनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्नुपर्नेछ । नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ ।

यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । ऐच्छिक विषय भने तीनवटा नै रहनेछन् । विद्यार्थीले चाहेमा एक सय पूर्णाङ्कको थप एक विषयको परीक्षासमेत दिन पाउनेछन् । अनिवार्य तीनवटा विषयको पाठ्यपुस्तक लेखन कार्य चलिरहेको बताइएको छ ।

यी विषयका पुस्तक सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित हुनेछन् । यसअघि कक्षा ११ को पाठ्यपुस्तक सरकारी प्रयासमा लेख्ने र पुस्तक छाप्नेसमेत गरिएको थिएन ।

खासगरी कक्षा १२ सम्मलाई विद्यालय तह मानिएपछि अनिवार्य विषयको हकमा पाठ्यपुस्तक लेखाउने परिपाटी सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*