सोमालियामा मारिएका विद्रोही कमाण्डर नेपाली भएको दावीप्रति नेपाल प्रहरीको चासो

तामसालिङ खबर
१५ असार २०७७, सोमबार ०५:४६

असार, काठमाडौं – सोमालियाको सुरक्षा फौजले गरेको सैन्य कारवाहीमा मारिएका इस्लामिक समूह अल–सवाबका कमाण्डर नेपाली रहेको दावीप्रति नेपाल प्रहरीले चासो देखाएको छ । सोमालियाको सेनाले गत विहीबार दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा इस्लामिक विद्रोही संगठन अलसवाबविरुद्ध सैन्य कारवाही गरेको थियो ।

सो कारवाहीमा मारिएका अल सवाबका कमाण्डर भनिएका असरफ अज्मी अबु हमदानलाई नेपाली नागरिक भएको त्यहाँको राज्यस्तरीय रेडियोलाई उद्धृत गर्दै अफ्रिका न्युजले लेखेको छ । यो दावीप्रति नेपाल प्रहरीले चासोका साथ हेरेको बताइएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआइजी निरजबहादुर शाहीले सोमालियामा मारिएका विद्रोही कमाण्डर नेपाली भएको घटनाबारे चासोका साथ हेरिएको बताए ।

हमदान ईस्लामिक समूह अल–सवाबका मुख्य प्रशिक्षक रहेको र उनको २००८ देखि संलग्नता रहेको समाचारमा उल्लेख गरेको छ । अहिलेसम्म उनको नाम यसअघि विद्रोही समूहमा कतै नसुनिएकाले पनि यो घटनाले नेपाल प्रहरी अचम्मित परेका छन् ।

सोमालियामा नेपालको कुनै कुटनीतिक नियोग पनि छैन । त्यस कारण पनि अहिले सो घटनामा मारिएका र नेपाली भनिएकाबारे बुझ्न असहज भएको छ । नेपाल प्रहरीका विशेष व्यूरो प्रमुख डीआइजी प्रधुम्न कार्कीले कुटनीतिक नियोग नभएकाले पनि आधिकारिक बुझ्न असहज भएको बताए ।

सोमालियामा मारिएका नेपाली भनिएकाबारे अनुसन्धान हुने उनको भनाइ छ । कतिपय प्रहरीको भने नेपाली पासपोर्ट चोरी गरेर आतंककारीहरुले प्रयोग गरेको हुनसक्ने अनुमान पनि छ । आपराधिक गतिविधि गर्नेहरुले धेरै परिचय फेर्ने र धेरै कीर्ते काम गर्ने भएकाले पनि आतंककारीहरुले नेपाली पासपोर्ट प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ ।

नेपाली भनेर दावी गरिएका हमदानसँगै अलसवाबका अन्य तीन जना लडाकुहरु पनि सैन्य कारवाहीका क्रममा मारिएको बताइएको छ । इस्लामिक संगठन अल सवाबले इस्लामिक सरिया कानूनमा आधारित छुट्टै राज्य स्थापनाका लागि त्यहाँको केन्द्रीय सरकारविरुद्ध सन २००८ देखि सशस्त्र विद्रोह गर्दै आएको छ । – नागरिक खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*