सुस्मिताको हत्या परिवारबाटै भएको प्रहरीको निष्कर्ष

तामसालिङ खबर
१५ असार २०७७, सोमबार ०५:३७

असार, हेटौडा – मकवानपुरको हेटौंडा वडा नम्बर ४ मा २२ वर्षीया सुस्मिता थापाको हत्या परिवारकै सदस्यबाट भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले परिवारबाटै उनको हत्या भएको निष्कर्ष निकालेको हो ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाका अनुसार सुस्मिता हत्यामा उनकै ससुरा र नन्दको संलग्नता रहेको खुलेको छ । ‘सुस्मिता हत्या आफ्नै परिवारबाट भएको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानबाट सुस्मिताकै ससुरा र नन्दबाट हत्या भएको देखिन्छ,’ डिएसपी रानाले भने, ‘ससुरा र नन्दलाई हिरासतमा लिएर अनुसन्धान गरेका थियौँ । १३ दिन लामो अनुसन्धानले उनको हत्या नै भएको देखाएको छ ।’

सुस्मिता २ असारमा हेटौंडा-४ कर्रा नजिक सूर्यचोकस्थित आफ्नै घरको बन्द भान्सा कोठाभित्र मृत फेला परेकी थिइन् । सुस्मिताको हत्यामा संलग्नता देखिएको भन्दै प्रहरीले ५ असारमा ससुरा ५८ वर्षीय प्रकाश थापा र नन्द २३ वर्षीया सीता थापालाई पक्राउ गरेको थियो ।

मृतक सुस्मिताका श्रीमानको करिब ९ महिनाअघि सवारी दुर्घटनामा ज्यान गएको थियो । घटनाअघि कपिलवस्तुस्थित माइत बस्दै आएकी सुस्मिता पतिको सांस्कृतिक कार्यक्रमको लागि हेटौंडा आएकी थिइन् । सुसुरा, सासू र एक नन्दसँगै मृतक थापा घरमा बस्दै आएकी थिइन् । स्रोत : शिलापत्र डटकम 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*