मकवानपुरको स्थानीय तहको सबैभन्दा ठुलो बजेट हेटौडा उपमहानगरको २ अर्ब ८ करोड ६६ लाख (पूर्ण विवरण सहित)
असार, हेटौंडा – आर्थिक वर्ष २०७७/०७८ मा मकवानपुरको दश स्थानीय तह मध्ये ९ वटाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागमती प्रदेशको एकमात्रा उपमहानगर हेटौंडा उपमहानगरसहित नौ स्थानीय तहले बजेट ल्याएका हुन् । तर पुर्बी मकवानपुरको बागमती गाउँपालिकाले भने बजेट सार्वजनिक गरेको छैन् ।
सबैभन्दा धेरै बजेट हेटौडा उपमहानगरपालिकाको २ अर्ब ८ करोड ६६ लाख ३३ हजार बिनियोजन भएका छन् भने यता पालिका तर्फ भने मनहरी गाउपालिकाको ७६ करोड १६ लाख ३५ हजार विनियोजित भएको हो ।
त्यस्तै, सबै भन्दा कम कैलाश गाउपालिकाको ४३ करोड ७२ लाख ५९ हजार बजेट विनियोजित भएको छ । बागमती गाउपालिकाको बजेट भने असार २० गते मात्र गाउसभामा पेश हुने भएको छ ।
१. हेटौंडा उपमहानगरपालिका :
हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । हेटौडा उपमहानगरको बुधबार भएको सातौ नगरसभामा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर मिनाकुमारी लामाले बजेट पेश गरेकी हुन ।
२. थाहा नगरपालिका :
उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ८० करोड ५६ लाख ३३ हजारको बजेट ल्याएको छ । बुधबार बसेको सातौ नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरेको छ । नगर भित्रका बाँझो जग्गालाई उत्पादनमा प्रयोग गर्न गरिने, उन्नत जातका वीवविजन तथा मल खाद्यको समेत व्यवस्था गरिने, आधुनिक औजारको प्रयोगमा जोड दिइने र कृषि अनुदान वितरण गरिने जस्ता विषय प्राथमिकतामा राखिएको छ ।
३. मनहरी गाउपालिका :
मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय २० को बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको सातौ गाउँसभामा अनुमानित बजेट पेश गर्दै गाउपालिकाकी उपाध्यक्ष मनिला बिष्टले नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा विशेषगरी कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सडक सुधार तथा कालोपत्रे, ग्रामिण विद्युतीकरण, शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने लक्ष्य लिएको छ ।
४. बकैया गाउपालिका :
बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ६५ करोड १९ लाख ६९ हजारको अनुमानित बजेट पेश गरेको छ । बुधबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष सरला बोलखेले आगामी आवको लागि अनुमानित बजेट सार्वजनिक गर्नुको साथै बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
आगामी आवको लागि नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानी, सडक कालोपत्रे, स्वरोजगार, विभिन्न तालिम संचालन लगायका विषयबस्तु समेटिएको छ ।
५. मकवानपुर गढी गाउपालिका :
मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । गाउपालिकाको पाँचौं गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाले प्रस्तुत गर्न तयार पारिएको नीति कार्यक्रम र बजेट वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले बाचन गर्नु भएको थियो ।
६. भीमफेदी गाउपालिका :
भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ५६ करोड ८७ लाखको बजेट बिनियोजन गरेको छ । गाउपालिका बुधबारको छैठौ गाउँसभा मार्फत आगामी आवको अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ ।
७. राक्सिराङ गाउपालिका :
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित सातौ गाँऊ सभामा गाउपालिकाका उपाध्यक्ष निर्मला हिमडुङ्गले ५१ करोड १५ लाख २० हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेकी हुन । गाउँपालिकाले आगामी आवमा कृषि, खानेपानी, सडक पूर्वाधार, ग्रामिण विद्युतिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलगायतका क्षेत्रमा प्राथमिकता निर्धारण गरी बजेट प्रस्ताव गरेको छ ।
८. इन्द्रसरोवर गाउपालिका :
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५० करोडको अनुमानित बजेट पेश गरेको छ । बुधबार बसेको गाउँसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रम समेत सार्वजनिक गरिएको छ । गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसंग जोडेर नीति कार्यक्रम ल्याएको छ । विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन बृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्वरोजगार बनाउने खालको बजेट निर्माण गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
९. कैलाश गाउपालिका :
मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ४३ करोड ७२ लाख ५९ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको गाउँसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने भएको हो ।
१०. बागमती गाउपालिकामा भने बजेट आएन :
पुर्बी मकवानपुरको बाग्मती गाउँपालिकाले बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन । आगामी असार २० गते मात्रै बजेट सार्वजनिक हुने गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । गाउँपालिका नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहभागिता नजनाउने भएपछि गाउँपालिकाले गाउँ सभा राख्न नसकेको हो ।