कतारबाट घर फर्कने नेपालीको सूची सार्वजनिक

तामसालिङ खबर
३१ जेष्ठ २०७७, शनिबार १७:३४

जेठ, कतार – कतारबाट घर फर्कनै पर्ने नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावास दोहा कतारले सार्वजनिक गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण कतारमै रोकिएका नेपालीहरुलाई स्वदेश फिर्ता गराउन दूतावासले सूचना जारी गरेको हो

दुतावासले कतारमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरु हुने जनाएको छ ।

दूतावासले सार्वजनिक गरेको सुचीमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई राजदूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा सम्पर्क गर्ने उल्लेख छ । हवाई टिकटको मूल्य अमेरिकी डलर ४९० तोकिएको छ । प्राथमिकतामा परेका यात्रुको नामावली सहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुको नामावली प्रकाशित गरिनेछ र हवाइटिकट खरिद गर्न सूचित गराइने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । हवाइटिकट खरिद गर्ने स्थान तथा सम्पर्क विवरण सोही बखतमा जानकारी गराइनेछ ।

हवाई उडान गर्नु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ । कतारको प्रचलित कानून अनुसार हवाई उडानको लागि अनुमति नपाएका व्यक्तिहरुको हकमा राजदूतावासले सम्बन्धित निकायमा आवश्यक समन्वय र सहजीकरणको लागि पत्राचार गर्नेछ ।
उक्त निकायहरुबाट आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरुलाई त्यसपछिका उडानहरुमा समावेश गरिनेछ । प्राविधिक कारणहरुले उडानको मिति हेरफेर हुन सक्ने उल्लेख छ ।

त्यस्तै राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवति महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत, पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आई डि र भिसा समाप्त भएका वा आई। डी। रद्द भएका, बेतलबी बिदामा रहेका प्राथमिकतामा राखिएको छ ।

त्यस्तै आममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*