बागमती प्रदेशमा पत्रकारहरुको कोरोना बिमा गरिने

तामसालिङ खबर
२३ जेष्ठ २०७७, शुक्रबार ०५:२७

जेठ, हेटौडा – बागमती प्रदेश सरकारले प्रदेशमा रहेका एक हजार पत्रकारहरुको कोरोना बिमा गरिदिने भएको छ । कोरोनाको सक्रमण बढ्दै गएकाले फ्रन्‍टलाइनमा बसेर संचारकर्मी गर्ने पत्रकारहरुलाई एक लाखको कोरोना बिमा गर्न लागिएको हो ।

बागमती प्रदेशमा करिब साढे ५ हजार भन्दाबढी सञ्चारकर्मीहरु रहेका छन । ‘प्रदेश सरकारले फ्रन्टलाइनमा रहेका सञ्चारकर्मीहरुलाई कोरोना बिमा गर्न लागेको हो,’ आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले भने,‘यो बिमा कार्यक्रमले फ्रन्टलाइनमा काम गर्ने सञ्चारकर्मीहरुलाई थोरै भएपनि काम गर्ने ऊर्जा पैदा गर्ने सोचेका छौं ।’

बागमती प्रदेशको उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका १० जिल्लालाई महासंघको सदस्यताको आधारमा जिल्ला-जिल्लामा बिमा गर्ने पत्रकारहरुको संख्या तोक्ने व्यवस्था गरेको छ । प्रदेश पत्रकार महासंघ र उपत्यका पत्रकार महासंघको समन्वयमा पत्रकारहरुको कोरोना बिमा गर्न लागेको प्रेस रजिष्ट्रार रेवती सापकोटाले बताए ।

तोकिएको संख्या र मापदण्डभित्र रहेर जिल्ला पत्रकार महासंघको सिफारिसमा प्रदेश र उपत्यका महासंघको समन्वयमा एक साताभित्रमा कोरोना बिमा गर्ने छौ, उनले भने ।

यसैगरी प्रदेशमा रहेका सञ्चारमाध्यमहरुलाई राहत पुर्‍याउने उद्देश्यले प्रदेश सभाको गतिविधि प्रत्यक्ष प्रसारण र प्रकाशन गर्ने सञ्चार माध्यमहरुलाई प्रदेश सरकारले १५ लाख ४० हजार रुपैयाँ विनियोजित गरेको छ ।

प्रदेश सभाको नीति तथा कार्यक्रम र बजेट प्रस्ततिको प्रत्यक्ष प्रसारण र प्रकाशन गर्ने संचारमाध्यमलाई रकम उपलब्ध गराउने व्यवस्था गरिएको प्रेस रजिष्ट्रार सापकोटाले बताए । टेलीभिजन,रेडियो र अनलाइनलाई उक्त रकम उपलब्ध गराउन लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*