आर्थिक वर्ष २०७७/७८ को आज बजेट भाषण हुने
जेठ १५, काठमाडौँ – आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।
नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरे ।
बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका लागि सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।
संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ । दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्नेछन् ।