नायिका स्वस्तिमा र केकी हलिउड फिल्ममा अनुबन्धित
जेठ १, काठमाण्डौ – नेपालका दुई चर्चित अभिनेत्री स्वस्तिमा खड्का र केकी अधिकारी हलिउड फिल्ममा अनुबन्धित भएको छ । कोरोनाका कारण सरकारले लकडाउन गरेपछि सबै कामकाज ठप्प भएको अवस्थामा स्वस्तिमा र केकीलाई भने सुनौलो अवसर मिलेको छ । नेपाली सिने जगतमा आफ्नो जगा स्थापित गरेका दुइ अभिनेत्रीले अभिनय गर्ने चलचित्रको नाम सार्वजनिक गरिएको छैन तर चलचित्रका लागि उनीहरू आधिकारिक रूपमा अनुबन्धित भइसकेका छन् ।
लकडाउन सुरु हुनुभन्दा अघि नै अमेरिकन टोलीले निर्माण गर्ने उक्त चलचित्रका लागि टोली अभिनेत्रीको छनौटमा नेपाल आएका थिए । चलचित्रका लागि स्वस्तिमा र केकी लगायत अन्य केही अभिनेत्रीहरुले अडिसन दिएका थिए । अन्य अभिनेत्रीलाई पन्छाउदै स्वस्तिमा र केकीले आफ्नो क्षमता प्रदर्शन गरेर आफूहरुलाई हलिउड चलचित्रका लायक बनाए । यी दुईबाहेक अन्य कलाकार भने अमेरिकी नै हुनेछन् । सम्पूर्ण छायांकन अमेरिकामै गरिने बताइएको चलचित्रमा मुख्य भूमिकामा स्वस्तिमा हुनेछिन् भने उनको दिदीको भूमिकामा केकी हुनेछिन् ।
कोरोना संक्रमणको जोखिमका कारण चलचित्रको छायांकन पछि धकेलिएको बताइएको छ । कोरोना कहर साम्य भएपछि अमेरिकाका विभिन्न स्थानमा चलचित्रको छायांकन शुरु गरिने बताइएको छ । भुटानी शरणर्थीको जीवनीमा आधारित चलचित्रमा स्वस्तिमाले चलचित्रका लागि औपचारिक रूपमा सम्झौता भइसकेको जानकारी दिएकी छिन् ।
अमेरिकी चलचित्रको मुख्य पात्रको रुपमा लागि आफू छनोट हुनु खुसीको कुरा भएको उनी बताउँछिन् । अहिले कोरोनाको त्रासले खुसी बाँड्न नपाएको गुनासो गर्दै उनले यो अवसरले आफूलाई अगामी दिनहरुमा अझ जिम्मेवार भएर काम गर्न हौसला दिने बताएकी छिन् । आर्टिष्ट खबरबाट