एकैदिन ८३ जना थप कोरोना संक्रमित ह्वात्तै बढ्यो

तामसालिङ खबर
३१ बैशाख २०७७, बुधबार ०८:१८

बैशाख ३१, काठमाडौँ – काठमाडौं उपत्यकाका साथै प्रदेश २ र प्रदेश ५ का विभिन्न जिल्लामा गरी मंगलबार एकै दिन थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी पर्सामा ५७ जनामा संक्रमण देखिएको छ ।

रूपन्देहीमा ९ र कपिलवस्तुमा ८ संक्रमित छन् । महोत्तरी, धनुषा र भक्तपुरमा २र२ तथा काठमाडौं, बारा र सर्लाहीमा १र१ जनामा संक्रमण पुष्टि भएको छ । यी सबैसहित मुलुकमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ । विभिन्न जिल्लाहरूमा संक्रमण बढेसँगै लकडाउन उल्लंघन गर्दै राजधानी भित्रिनेहरूको संख्या पनि बढेको छ ।

गत वैशाख २६ र २७ गते संकलित नमुना परीक्षण हुँदा पर्सामा थप ५७ जनामा कोभिड पोजिटिभ देखिएको हो । वीरगन्जमा यसअघि ३ जना भारतीय मुस्लिम धर्म प्रचारकसहित २५ जनामा कोरोना पुष्टि भइसकेको छ । गत वैशाख २४ मा वीरगन्ज महानगरपालिका– ३, छपकैयाका एकै परिवारका १७ जनामा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको थियो । बिहीबार, शुक्रबार र शनिबार गरी ८ सय १४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

३९ जनामध्ये पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वास्थित श्री मंगल मावि विद्यालयको क्वारेन्टाइनबाट स्वाब संकलन गरिएका १४ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरूसहित ४२ जना गत वैशाख १३ मा बागलुङबाट बस रिजर्भ गरी आएका आएका थिए । गाउँपालिका अध्यक्ष मनोज साहका अनुसार उनीहरू बागलुङको हटियामा काम गर्न गएका थिए । बागलुङबाट आएको थाहा पाएपछि उनीहरूलाई बसबाट सिधै मंगल माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष साहले बताए । १४ जना संक्रमितमध्ये धोबनी गाउँपालिकाका २ जना, छिपहरमाईका ११ र १ जना भारतीय नागरिक छन् ।

शनिबार परीक्षणका लागि दिएको स्वाबको नतिजा मंगलबार सार्वजनिक हुँदा धेरैमा संक्रमण फैलिएको आशंका गरिएको छ । नारायणी अस्पतालका चिकित्सकका अनुसार वीरगन्जमा समुदायस्तरमै कोरोना फैलिसकेको छ । संक्रमितहरू वीरगन्जको वडा २, ३, ४, १६, १७ र १८ वडाका छन् ।

बाराको विश्रापुर गाउँपालिका–४, बलिरामपुरका १४ वर्षीय किशोरमा पनि वीरगन्जबाटै संक्रमण भएको खुलेको छ । वीरगन्ज–१६ इनर्वामा उनले खाना पकाउने ग्यास पसल सञ्चालन गर्दै आएका थिए । बलिरामपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जगदीश यादवका अनुसार बलिरामपुरबाट दुई किमिको दूरीमा रहेको पसलमा उनी ९संक्रमित किशोर० दिनहुँ घरबाट आउजाउ गरिरहेका थिए ।

वीरगन्ज–१६ का एक ५५ वर्षीयमा कोरोना पुष्टि भएपछि किशोर र उनका बुबाको कन्ट्याक्ट ट्रेसिङका आधारमा ती किशोरको पनि परीक्षण गरिएको थियो । परीक्षणमा किशोरका बुबाको नेगेटिभ र किशोरको पोजिटिभ रिपोर्ट देखिएको यादवले जानकारी दिए । प्रहरीले संक्रमित किशोरको बसोबास रहेको टोललाई सिल गरेको छ । जिल्लामा योसँगै संक्रमितको संख्या ३ पुगेको छ ।

पर्सा र बारामा निषेधाज्ञा, सुरक्षाको जिम्मा सेनालाई
कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला सुरक्षा समितिहरूले पर्सा र बारामा निषेधाज्ञा जारी गरेका छन् । पर्सामा मंगलबार साँझ ८ बजेदेखि र बारामा बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक बैठकले जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

आवश्यकता हेरेर निषेधाज्ञाको म्याद थप्न पनि सकिने बैठकमा सहभागी एक सुरक्षा अधिकारीले बताए । सरसफाइ, खाद्यान्न तथा बैंकको काउन्टर आदिको व्यवस्थापन गर्दै निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको छ । आजको कान्तिपुरमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*