खाडी मुलुकमा अप्ठ्यारोमा परेका कामदार फर्काउने सरकारको तयारी

तामसालिङ खबर
२३ बैशाख २०७७, मंगलवार १९:५६

बैशाख २३, काठमाण्डौ – सरकारले कोरोना भाइरसको महामारी पछि वैदेशिक रोजगारीमा रहेकामध्ये अतिसंकटमा रहेका नेपाली फर्काउन आन्तरिक तयारी थालेको छ । विदेशमा रहेका नेपालीलाई चार श्रेणीमा विभाजन गरेर सरकारले श्रम गन्तव्यमा परेकाको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको हो । अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि प्राथमिकता क्रमका आधारमा नेपालीलाई स्वदेश फर्काउने र क्वारेन्टाइनसहितको प्रबन्ध गर्ने सरकारी तयारी छ ।

‘हामी कुन मितिमा ल्याउँछौँ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । तर, अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि आवश्यकताका आधारमा प्राथमिकता क्रम छुट्याएर नेपाली नागरिकलाई स्वदेश फर्काउँछौँ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार सञ्चारकर्मीसँग भने, ‘यसका लागि श्रम गन्तव्य मुलुकका हाम्रा दूतावासले परिस्थितिको आकलन गर्ने र नेपालीको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।’

श्रम मुलुकमा रहेका गर्भवती, आफन्त गुमाएका, गैरकानुनी रूपमा बसेका र फिर्ता हुन सम्बन्धित देशले आदेश दिएका, अति संकटमा रहेका नेपालीलाई स्वदेश फर्काउन पहिलो प्राथमिकतामा राखिएको छ । ‘श्रम गन्तव्यमा रहेका नेपालीबारे सरकार चिन्तित छ । प्रधानमन्त्री आफैँले पनि सम्बन्धित सरकार प्रमुखसँग टेलिफोनमा संवाद गरेर चासो राख्नुभएको छ,’ ज्ञवालीले भने ।

श्रम मन्त्रालयसँग समन्वयमा परराष्ट्र मन्त्रालयले श्रम गन्तव्य मुलुकमा कार्यरत श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूलाई भविष्यमा पर्न सक्ने समस्या र उनीहरूको व्यवस्थापनबारे एक सातादेखि विस्तृत अध्ययन गरिरहेको छ । विशेषतः आप्रवासी कामदारबारे सम्बन्धित देशको नीति, रोजगारदाता कम्पनीको अवस्था मूल्यांकन गर्दै नेपालीको रोजगारी गुम्न सक्ने अवस्था, उनीहरूलाई त्यही मुलुकमा रोजगारी स्थानान्तरण गर्र्न सम्भावना र स्वदेश नफर्काई नहुने अवस्थाको अध्ययन भइरहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सरकारले पहिलो प्राथमिकतामा वैदेशिक रोजगारीका क्रममा मलेसिया, खाडी मुलुक, दक्षिण कोरियालगायत क्षेत्रमा रहेका नेपालीलाई राखेको छ । महामारीपछि उनीहरूको नोकरीमा पर्ने संकट, अत्यन्तै अप्ठेरो अवस्थामा रहेका नेपालीको स्वदेश फिर्ती, उनीहरूलाई राखिने क्वारेन्टाइन, स्वास्थ्य जाँच तथा उनीहरूको व्यवसाय वा स्वरोजगारीलगायत विषयमा विस्तृत आकलन हुनेछ । सरकारको दोस्रो प्राथमिकतामा विदेशमा अध्ययनका लागि गएका विद्यार्थी छन् । तेस्रो प्राथमिकतामा छोटो समयको भिजिट भिसामा गएकाहरू छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*