नेपालमा लकडाउन खुकुलो बनाउने संकेत

तामसालिङ खबर
१२ बैशाख २०७७, शुक्रबार ०६:११

बैशाख १२, काठमाण्डौ – कोरोना महामारीका कारण लकडाउन लम्बिँदा मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने संकेत गरेको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले केही मापदण्डका आधारमा लकडाउन खुकुलो बनाउने संकेत गरेका हुन् ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले भने, “आम मानिसको जीवनरक्षा पहिलो कुरा हो त्यसका बाबजुद पनि केही न्यूनतम आपुर्तिजन्य कुराहरू परिपूर्ति गर्ने कुराहरूमा सहजता अपनाउनुपर्ने हुन्छ त्यसतर्फ हामी अघि बढ्न खोजेका छौं ।”

अर्थमन्त्रीले रोकथामका कारणले परेको असरलाई न्यूनीकरण गर्न हामीले के गर्ने हो ? उत्पादनका श्रृंखलालाई कसरी जोड्ने हो आपूर्तिका श्रृंखलालाई कसरी जोड्ने हो ? र आम नागरिकको जीवनलाई उकुसमुकुस हुनबाट अलि सहज अवस्थाामा कसरी लाने भन्ने नै सरकारको पहिलो योजना रहेको सुनाए । उनले भने, “कोरोना रोकथामको कारणले जुुनजुन क्षेत्रमा आवागमन अवरुद्ध भएको कारणले असर गरेको छ, चाहे त्यो पर्यटन होस्, निर्माण या व्यापारको क्षेत्र होस् यी क्षेत्रको पुनः उत्थानका लागि अल्पकालीन र मध्यकालीन योजनाको तयारी भइरको छ ।

वर्षको नीति तथा कार्यक्रम र बजेटको माध्यमबाट र तत्कालै केही गर्न भए पनि आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्छौं,” उनले भने । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकोले बजेट निर्माणको प्रक्रिया कठिन भएको बताए । कोभिड–१९ को रोकथामको लागि सरकारले चालेका कदमहरू जो जीवनरक्षासँग सम्बन्धित भएकोले आर्थिक क्रियाकलापमा प्रतिकुल असर परेको उनको भनाई थियो ।

“यसकै कारणले राजस्वको संकलनको अवस्था लक्ष्यअनुरुप छैन भने खर्च गर्ने क्षमतामा पनि कहिँ न कहिँ अवरोध आएको छ, यो अवस्थामा स्रोत थपेर बजेट निर्माण गर्नु पर्नेछ र जोखिम नियन्त्रणले अर्थतन्त्रमा परेको प्रतिकुल असरलाई पुनर्ताजगी दिन पनि थप स्रोत चाहिएको छ,” उनले थपे, “त्यसका लागि पनि काम गर्ने हो प्रयाप्त बजेट हछलफल गर्ने बहस गर्ने सबै सरोकारवालासँग बसेर छलफल गर्न सकिरहेका छैनौँ ।” उनले सामाजिक दूरी कायम राख्नुपर्ने भएकोले पनि खुला छलफल गर्न नसकेको र विद्युतीय माध्यमलाई प्रयोग गरेर सिमित कर्मचारीसँग काम भैरहेको बताए ।

यद्यपि, अर्थतन्त्रलाई चलायमान बनाउने निहुँमा छिमेकी मुलुकमा नहेरीकन हामीले एकपक्षीय निर्णय गर्न नमिल्ने उनले स्पष्ट पारे । आफुहरु खुला सिमानाका कारणले जोखिममा रहेको र लकडाउन खोल्न पूर्वतयारी नहेरी चेतना सामाजिक दूरीका कुराहरू नहेरी सबै निर्णय लिन सकिने अवस्था नरहेको उनले बताए । गत सोमबार बसेकोे मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग १० करोड अमेरिकी डलर ऋण सम्झौता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । स्रोतः कारोबार दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*