राजपा र समाजवादी पार्टी एकता

तामसालिङ खबर
११ बैशाख २०७७, बिहीबार ०५:०४

बैशाख ११, काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।

समाजवादी पार्टीका संघीय परिषद् अध्‍यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी नेपाल राखिएको बताए । राजपाका नेता राजेन्द्र महतोले बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने जानकारी दिए ।

करीब ११ बजे भएको सहमतिमा दुवै पार्टीका चार-चार जना नेताले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा राजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । राजपा नेपालका अध्‍यक्षमण्डलका सदस्‍यहरू अनिलकुमार झा र राजकिशोर यादवले भने सहमतिपत्रमा यसमा हस्ताक्षर गरेका छैनन् ।

पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ । दल विभाजन खुकुलो हुनेगरी आएको अध्‍यादेशको त्रासले मध्‍यरातमा राजपा र समाजवादी पार्टीबीच एकता भएको हो । – ईकन्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*