‘मैले केही बिराएको छैन, जनचेतना फैलाउने मेरो काम हो’ – डा. शेरबहादुर पुन

तामसालिङ खबर
७ बैशाख २०७७, आईतवार ०८:११

बैशाख ७, काठमाडौँ – मैले जहिल्यै पनि आमजनताको हितको काम गर्दै आएको छु । जनमानसलाई सही सूचना दिने र जनचेतना जोगाउने मेरो काम   हो । विगत १८ वर्षदेखि म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत छु ।

यो अस्पताल साउथ एसियाकै सरुवा रोग अस्पतालको हब अस्पताल बनोस् भन्ने भिजनका साथ म हिँडिरहेको छु। बाहिरका ठूला अस्पतालले जागिर अफर गर्दा पनि नगएर मैले यस अस्पतालको सेवा गरेको छु।

सार्स, जापनिज इन्सेफ्लाइटिस, स्वाइन फ्लू, डेंगु ,बर्ड फ्लूजस्ता थुप्रै महामारी देखेको छु । त्यसमा डटेर काम गरेको छु। कोरोना महामारीमा सुरुदेखि नै खटिरहेको हुँ । म त यो अस्पतालको लागि एउटा जिउँदो इतिहासको रुपमा छु ।

आफ्ना अभिव्यक्ति दिँदा केही कुरा गलत बोले जस्तो मलाई लाग्दैन। जनतालाई सुसूचित गर्ने काम नै गरें जस्तो लाग्छ । मलाई अध्ययन अनुसन्धानमा रुचि छ । त्यसमा घोत्लिरहेको हुन्छु । लेखहरु लेख्छु । केही पाउँला भन्ने आशले त मैले कहिल्यै सोचेको छैन। आममानिसमा जनचेतना जगाउनु नै मेरो लागि प्रमुख हुन्छ ।

बिहीबार मन्त्रालयले मलाई त्यहाँ बोलाएको छ भन्ने खबर थाह पाएँ । के कारणले बोलाइएको हो भन्ने मलाई थाह भएन । त्यो दिनमा निकै नै व्यस्त भएँ । ओपीडी थियो । पीपीई लगाएर काम गर्दै थिएँ। त्यो लगाएपछि फोन पनि उठाउन पाइन । बिरामीहरु अलि बढेका थि ए। सनसिटीबाट केसहरु आएको थियो । अस्पतालको निर्देशक डा.सागरराज भण्डारीले ‘तपाईंलाई मन्त्रालय बोलाएको छ रे, जानुस् डा.साब,’ भन्नुभयो।

त्यस्तो के हतार होला र केही कुराले होला भन्ने सोचिराखेको थिएँ । अर्को दिन शुक्रबार थाह पाएँ मन्त्रालयले हाजिर भएन भनेर पत्र नै काटिसकेको रहेछ । मैले पत्र भने पढ्न पाएको छैन किनकी म घर गइसकेको थिएँ ।

पत्रमा के छ भनेर मलाई आधिकारिक जानकारी छैन । तर, मैले अनौपचारिक रुपमा सुनें अनुसार मैले मिडियामा गरेका कुराकानीसँग सम्बन्धित कुरा पत्रमा छ । चिठी नै आइसकेपछि मैले के जघन्य अपराध गरेको रहेछु भन्ने लाग्यो । कान्तिपुर दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*