प्रदेश सरकारले १२ जना काेराेना संक्रमितकाे ‘ट्राभल हिस्ट्री’ खाेज्न थालियो

तामसालिङ खबर
७ बैशाख २०७७, आईतवार ०७:३६

बैशाख ७, विराटनगर – विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखिएका एक नेपालीसहित १२ जना कोरोना भाइरस संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोज्‍न थालिएको छ । प्रदेश १ सरकारले उनीहरु कहाँबाट आएर कता–कता घुम्दै उदयपुरको त्रियुगामा रहेको मस्जिदमा पुगेका हुन् भन्ने जानकारी लिन विभिन्न सूचना संयन्त्र प्रयाेग गरिरहेकाे छ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार उदयपुरमा रहेको प्रशासन र प्रहरी कार्यालयले पनि यसबारे खोजी गरिरहेकामा अब प्रदेश सरकारले पनि थप जानकारी लिन थालेको छ । प्रारम्भिक सोधपुछका क्रममा मुस्लिम समुदायका ती संक्रमित व्यक्तिहरु भारतको नयाँ दिल्लीबाट आएको पाइएको छ । उनीहरु त्यहाँबाट विराटनगरको सीमावर्ती बजार जोगबनीसम्म आएका थिए । त्यसपछि त्यही नाकाबाट नेपाल प्रवेश गरी विभिन्‍न स्थान घुम्दै कार्यक्रमहरुमा सहभागी भएर चैत ७ गते उदयपुर पुगेको पाइएको छ ।

सोधपुछका क्रममा उनीहरु नेपाल प्रवेश गरेपछि प्रदेश १ का मोरङ, सुनसरी हुँदै प्रदेश १ को सप्तरी पुगेर फेरि प्रदेश १ मै पर्ने उदयपुर पुगेको खुलेको छ । त्यसक्रममा सप्तरीको बेदेबर्साइनमा फागुन पहिलो साता आयोजित मुस्लिम समुदायको भेलामा उनीहरु सहभागी भएका थिए । उदयपुर पुगेपछि स्थानीय बासिन्दाले बाहिरबाट मानिस आएर बसेको जानकारी स्थानीय प्रशासनलाई गराएका थिए । स्थानीय प्रशासनले उनीहरुलाई अन्यत्र घुमफिर नगरी आफैं क्वारेन्टाइनमा बस्न भनेको थियो ।

प्रारम्भिक रुपमा उनीहरुको आरडीटी विधिबाट जाँच पनि गरिएको थियो । त्यसबेला नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि सुरुमा विराटनगरस्थित कोसी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएको थियो । बिहीबार स्वाबको नमुना पठाएर काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा शुक्रबार साँझ कोरोना संक्रमण भएको थप पुष्टि भएको थियो ।

पुष्टि पछि उनीहरुलाई उदयपुरबाट शुक्रबार मध्यराति एम्बुलेन्समा ल्याइएको थियो । विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा भर्ना गरी उनीहरुको रेखदेख र उपचार सुरु गरिएको छ । प्रारम्भिक रुपमा संक्रमितहरुमा कुनै लक्षण भने देखिएको छैन । निगरानीमा राखेर उनीहरुको स्वास्थ्य अवस्थाको अध्ययन भइरहेको चिकित्सकले जनाएका छन्।

उनीहरु बसेको उदयपुर, त्रियुगाको भुल्केस्थित मस्जिद आसपास निगरानी बढाइएको मन्त्री घिमिरेले बताए । मस्जिद आसपासका बस्तीमा बसोबास गर्नेहरुको स्वास्थ्य जाँच गरिने भएको छ । यसका लागि स्वास्थ्यकर्मीसहितको टोली त्यसतर्फ पठाइएको प्रदेश सरकारले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*