पैदल हिँडेकालाई सवारी साधनको व्यवस्था गरि घर पुर्‍याउन सर्वोच्चको आदेश

तामसालिङ खबर
६ बैशाख २०७७, शनिबार १२:४७

बैशाख ६, काठमाडौं – सर्वोच्च अदालतले घर जान पैदल हिँडेका सर्वसाधारणलाई निःशुल्क सवारी साधनको व्यवस्था गरी सुरक्षित साथ गन्तव्यमा पुर्‍याउन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले उक्त अन्तरिम आदेश दिएको हो । सर्वोच्चले उद्धारमा अत्यन्त प्राथमिकता साथ काम थाल्न भनेको छ ।

हाल काठमाडौं र अन्य सहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेका यात्रीको दर्दनाक अवस्था दर्शाउँदै प्रोपब्लिकका तर्फबाट वरिष्ठ अधिवक्ता डा.प्रकाशमणि शर्मा लगायतले दायर गरेको रिटमा यस्तो आदेश भएको हो ।

स्वास्थ्य परीक्षण सम्बन्धी जनशक्तिको मोबाइल समूहलाई परिचालन गरी पैदल यात्रुको र्‍यापिड टेस्ट गर्दै सुरक्षाका लागि अपनाउनुपर्ने सबै आवश्यक उपाय अवलम्बन गर्नसमेत सर्वोच्चको आदेशमा उल्लेख छ ।

सडक यात्रुमा कोरोना संक्रमणको आशंका भए आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलेसनमा राखी निको भएपछि वा शंकामुक्त भएपछि गन्तव्यमा पु‍र्‍याउन भनिएको छ ।

अलपत्र र समस्यामा परेका नागरिकलाई सुरुमा सुरक्षित रूपले घर सम्म पुर्‍याउने व्यवस्था गर्नु राज्यको प्राथमिक दायित्व रहेको स्मरण समेत सर्वोच्चले गराएको छ । अन्नपूर्ण पोष्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*