भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ, १८ जनाको आउन बाँकी

तामसालिङ खबर
२६ चैत्र २०७६, बुधबार ०६:३३

चैत्र, भक्तपुर – कोरोना भाइरसको शंकामा नमुना परीक्षण गरिएका भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुरमा शंकास्पद ५८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट नेगेटिभ आए र बाँकी १८ जनाको रिपार्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी लकडाउन शुरु भएदेखि लकडाउन उल्लंघन गर्ने १३५ सवारी साधन र ७३१ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम र उपचारका लागि भक्तपुरमा तीन वटा क्वारेन्टाइन स्थल तयार रहेको र त्यहाँ २९५ बेड रहेको प्रशासनले जनाएको छ ।

जिल्लाका विभिन्न अस्पतालमा १७ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष र ८७ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेको प्रजिअ पाण्डेले जानकारी दिइन्। यस्तै, भक्तपुरमा चैत १ देखि यता भारतलगायत तेस्रो मुलुकबाट आएका १३४ जनाको पहिचान गरी उनीहरुलाई निगरानीमा राखेको र उनीहरुको स्वाब परीक्षणको तयारी शुरु गरिएको छ ।

त्यसैगरी गत चैत १२ मा पूर्वको काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरी भक्तपुर आइपुगेका २३ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। गत चैत ८ मा विभिन्न देशबाट हवाईमार्ग हुँदै नेपाल प्रवेश गरी खरिपाटी क्वारेन्टाइनमा राखिएकामध्ये स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएका इलाम, सुनसरी, झापा, तेह्रथुम, धनकुटा, रौतहट, सर्लाही, बारा, सप्तरी, धादिङ, काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, तनहुँलगायतका जिल्लाका ७३ जनालाई सोमवार पाँचवटा बसको व्यवस्था गरी घर पठाएएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उनीहरुलाई थप ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने गरी पठाएको प्रजिअ पाण्डेले बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*