भारतमा १ अर्ब ३० करोड जनता ‘लकडाउन’ मा बस्न बाध्य

तामसालिङ खबर
१२ चैत्र २०७६, बुधबार १०:२३

चैत्र, दिल्ली – भारतको सम्पूर्ण जनसङ्ख्या तीन साता लामो कडा बन्देज ‘लकडाउन’ मा बस्न बाध्य भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले देशका एक अर्ब तीस करोड जनतालाई आफ्नो सुरक्षाका निम्ति कसैले घरबाहिर ननिस्कन आह्वान गरेका छन् । अन्यथा भारत दशकौँ पछाडि धकेलिने उनले बताए ।

टेलिभिजनमा उनले गरेको सम्बोधन लगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न मानिसहरूको भिड लागेको थियो । भारतमा हालसम्म पाँचसय भन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भेटिएका छन् भने १० जनाको ज्यान गएको छ । विश्वभरि सङ्क्रमणका सङ्ख्या चार लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । अठार हजारभन्दा धेरैको ज्यान गइसकेको छ।

मध्यरातबाट ‘लकडाउन’ लागु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न चाहेको बताए। उक्त बन्देज गएको मध्यरातबाट लागु भएको छ र आगामी २१ दिनसम्म जारी रहनेछ । “तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ,” मोदीले भने।

उनले मानिसहरूलाई नआत्तिन भनेका थिए तर लगत्तै राजधानी दिल्लीका पसलहरूमा भिड लाग्यो। सम्वाददाताहरू भन्छन् बन्देजका बेला मानिसहरूलाई खानेकुरा तथा अन्य अत्यावश्यक वस्तु किनमेल गर्न कसरी दिइनेछ भन्ने प्रस्ट पारिएको छैन।

दिल्ली र मुम्बईमा पहिले नै ‘लकडाउन’
बीबीसीकी दिल्लीस्थित सम्वाददाता रजिनी वैद्यनाथन भन्छिन् दिल्ली तथा मुम्बईजस्ता शहरमा यसअघि नै कडिकडाउ घोषणा भइसकेका थिए । अब त्यस्तो बन्देज सम्पूर्ण देशमा लागु हुँदैछ। आइतवार भारतमा ‘जनता कर्फ्यु’ भनेर पनि लगाइएको थियो।

त्यतिखेर प्रधानमन्त्री मोदीले आफ्ना घरबाटै ताली बजाएर स्वास्थ्य सेवकहरूको सम्मान गर्न आह्वान गरेका थिए। तर कतिपयले कुरा नबुझेर र्‍याली निकालेका थिए। भारतमा यस्तो ‘लकडाउन’को परिणाम के होला भनेर भन्न सकिँदैन। यसको आर्थिक तथा सामाजिक परिणाम हुन सक्छन्। तर विश्वव्यापीरूपमा फैलिएको सङ्क्रमणका सामु यी उपाय जरुरी रहेको पनि ठानिएको छ । बिबिसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*