सुरक्षित रहेर काम गर्न सञ्चारकर्मीलाई पत्रकार महासंघ मकवानपुरको आग्रह

तामसालिङ खबर
१२ चैत्र २०७६, बुधबार ०६:३७

चैत्र, हेटौंडा – कोरोनाको त्रासमा काम गरिरहेका सञ्चारकर्मीलाई सुरक्षित रुपमका काम गर्ने वातावरण मिलाउन नेपाल पत्रकार महासंघ मकवानपुरले आग्रह गरेको छ । सोमबार बसेको महासंघको बैठकपछी प्रेस विज्ञप्ती जारी गर्दै पहिले आफु सुरक्षित रहेर मात्र रिपोटीङ गर्नका लागि सञ्चार माध्यमसहित सम्बद्ध सम्पूर्णमा अनुरोध गरेको हो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा बसेको नियमित मासिक बैठकले छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्व नै त्रसित रहेको अवस्थामा नेपालमा समेत यसको संक्रमण फैलन सक्ने खतरा रहेकोले सचेत रहन आग्रह गरेको हो ।

बैठकपछि महासंघका सचिव गणेश दर्पण अधिकारीले विज्ञप्ती जारी गर्दै यो अवस्थामा मकवानपुरका श्रमजिवी पत्रकारहरु जनतालाई सूचना सम्प्रेषण गर्न अहोरात्र खटिरहेका का कारण थप समयमा खटिँदा अतिरिक्त पारिश्रमिक उपलब्ध गराउन पनि आग्रह गरेको हो । जिल्लाका केही पत्रकारले समयमै पारिश्रमिक नपाएको गुनासो आएकोले जोखिममा काम गरिरहेका पत्रकारहरुलाई सम्भव भएसम्म अतिरिक्त सुविधासहित समयमै पारिश्रमिक उपलब्ध गराउन यहाँका सञ्चार गृहलाई महासंघले जोडदार माग गरेको छ ।

जिल्लाका केही सञ्चार माध्यमले कोरोनाको बिषयमा तथ्यहीन तथा पुष्टि नभएको समाचार प्रकाशन प्रशारण गरी अफवाह फैलाएको भन्ने जनगुनासो आएकोले सत्यतथ्य एवम् पुष्टि भएको समाचार मात्र प्रकाशन÷प्रशारण गर्न अनुरोध समेत गरेको छ । जिल्लाबाट प्रकाशन हुँदै आएको केही पत्रिकाहरु कोरोनाको डरत्रास एवम् आवश्यक सामग्रीको अभावमा बन्द हुने अवस्थामा पुगेको भन्ने जानकारी आएकोले कथमकदाचित पत्रिका बन्द हुन गएमा कठिन अवस्था एवम् परिस्थितीलाई मध्यनजर गर्दै प्रेस काउन्सिल नेपालले गर्ने पत्रिका वर्गीकरणमा त्यस्ता पत्रिकालाई समेट्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

पत्रकार महासंघ मकवानपुर जिल्लाका सञ्चारकर्मी एवम् सञ्चार माध्यमलाई यो कठिन अवस्थामा धैर्य भएर काम गर्न, सुरक्षा अवस्थालाई विशेष ख्याल राख्न र कसेसम्म घरबाटै काम गर्ने उचित वातावरण मिलाउन सम्बद्ध सबैमा अनुरोध गर्ने निर्णय गरेको छ । संक्रमणको जोखिममा रहेको कोरोना भाइरसबाट आफू जोगिन र अरुलाई पनि जोगाउन सबैमा अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*