मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ?

तामसालिङ खबर
११ चैत्र २०७६, मंगलवार ००:०५

चैत्र, काठमाण्डौ – भाग्यवश नेपालमा अहिले कोरोनाको त्रास देखिएको छैन तर सर्तकता अपनाउन छाड्न हुन्न। रुघाखोकी लाग्दा पनि डराएर कोरोना हो कि भन्ने धेरै बिरामी आउने गर्छन्। रुघाखोकी र कोरोनाका लक्षण उस्ताउस्तै हुनाले मान्छेहरु झुक्किन्छन् र आत्तिन्छन्। तर कोरोना भाइरस हो कि होइन शंका गर्न त्यसको अरु कारणहरु राम्ररी जाँचपड्ताल गरेपछि मात्र थाहा हुन्छ।

कसरी छुट्याउने ?
मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा फ्लुको लक्षण देखिन थालेको छ। तर कोरोना नै भन्ने भय मनमा पाल्न हुँदैन। मनमा के राख्नपर्‍यो भने नेपालमा त्यस्तो स्थिति अहिले आइसकेको छैन। त्यसैले सतर्क भने रहनुपर्छ। सामान्य ज्वरो आउनु, रुघाखोकी लाग्ने लक्षण अहिले मौसम परिवर्तन भएसँगै देखा परेको हो। कोरोना भाइरसको शंका गर्न सुरुमा संक्रमण फैलिएको देश जस्तै कोरिया, चीन, इटालीबाट आएको हो वा होइन त्यो बुझिन्छ। यदि त्यहाँबाट आएको मान्छेसँग भेटघाट भएको १४ दिनभित्रमा रुघाखोकीका लक्षणहरु देखापरेमा ती व्यक्तिहरुलाई शंकाको घेरामा राख्न सक्छौं। यदि होइन भने रुघाखोकी लागेका मान्छेलाई परामर्श दिइरहेका छौं।

खोकी लाग्नु, ज्वरो आउनु, घाँटी अलि कस्सिएको, भारी भएको, थकान महसुस हुने लक्षण कोरोना भाइरसको शंका गर्न सकिन्छ । त्यसैगरी रुघाखोकी र फ्लु अलि फरक हुन सक्छन्। रुघाखोकी लागेमा त्यति कडा हुँदैन। नाकबाट पानी बग्ने, सामान्य हल्का ज्वरो आउने, हाँच्छ्यु आउने हुन्छ। अर्कोचाहिँ मौसमी फ्लु भने इन्फ्लुएन्जा भाइरसको कारणले हुन्छ। यसमा अचानक ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने तथा खसखस हुने हुन्छ। अलि बढ्दै गयो भने सास फेर्न अप्ठ्यारो हुन सक्छ। कोरोना भाइरसमा पनि ज्वरो आउने र खोकी लाग्ने यी दुई कुरा मिल्न जान्छन्। तर यो छुट्याउनको लागि त्यो मान्छे कहाँ–कहाँ गयो, संक्रमण फैलिएको देशबाट आएको–नआएको, क–कसको सम्पर्कमा आयो त्यो बुझ्नुपर्ने हुन्छ।

यदि तपाईंकाठमाडौवासी हो, छिमेकी वा आफन्त कोरिया, इटाली, चीनजस्ता देशबाट आएको छैन भने आत्तिनु पर्दैन । रुघाखोकी लाग्दैमा सुरुमा कोरोना नै सोच्नुपर्छ भन्ने जरुरी रहेन। मौसम परिवर्तन भइरहेको छ । अहिले धेरै कोरोना भाइरस फैलिरहेको इटालीमै जस्तो बसेर नसोचौं। मनमा त्रास नलिऊँ । सावधानी अपनाइ राख्यौं, कसरी सर्छ भनेर जान्यौं भने बच्न सकिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले सयौं कोरोनाको नमुना परीक्षण भइसकेको छ र खुसीको कुरा अहिलेसम्म १ जना बाहेक नेगेटिभ देखिएको छ । यदि कोही कोरोना संक्रमित भएको भए अस्पताल आइसक्थ्यो होला आखिर उपचारको लागि अस्पताल नै आउने हो । त्यसैले यसमा विश्वस्त हुन जरुरी छ ।

जुन स्तरमा अरु देशमा बाहिर देखिरहेको छ त्यस्तो स्थिति नेपालमा नभए पनि एकदमै ठूलो संक्रमण फैलिहाल्यो भने के गर्ने भनेर अध्ययन हुनुपर्छ । अरु देशले कसरी रोकथामका लागि उपाय अपनाइरहेका छन् भनेर सिक्न जरुरी छ । त्यसैले सुरक्षित रहौं, सतर्कता अपनाऔं, आतंकित नबनौं ।
-कान्तिपुरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*