कोरोनाको त्रास : चैत ६ बाट सुरु हुने एसईई नरोकिने
काठमाण्डौ – विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने बताएका छन् । यसपालि एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुन लागेको छ ।
सचिव दहालका अनुसार एसईईका परीक्षार्थीलाई सङ्क्रमण भएको शङ्का लागेका छुट्टै राखेर परीक्षा दिन लगाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको छ । “एसईई परीक्षा सार्न सकिने अवस्था छैन । लगभग सबै क्षेत्रमा प्रश्नपत्रहरू पुगिसकेका छन्,” दाहालले भने ।
“कुनै विद्यार्थीलाई ज्वरो आयो वा रुघाखोकी लागेको छ भने छुट्टै राखेर परीक्षा दिन लगाउने व्यवस्था गर्ने भनेर सल्लाह गरेका छौँ । सम्भवत: त्यो अनुसारको सूचना हामी चाँडै जारी गर्छौं ।”
शैक्षिक सत्र चाँडै सक्न निर्देशन
नेपालमा अहिलेसम्म एक जनालाई मात्र कोरोनाभाइरस भएको पुष्टि भएको छ । तर ती व्यक्तिलाई पनि निको भइसकेको छ । तर कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन केही दिनअघि सरकारले धेरै मानिस भेला हुने सभा, सम्मेलन, भोजजस्ता कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको थियो ।
धेरै मानिस जम्मा हुने स्थानमा विद्यालय पनि पर्छन् । त्यसैले यसपालि शैक्षिक सत्र केही समयअघि नै सक्न निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले देशभरि रहेका झन्डै ३५,००० विद्यालयमा कक्षा १ देखि ९ सम्मका सबै परीक्षा चैत ५ सम्म सम्पन्न गरेर बिदा दिन निर्देशन जारी गरिएको छ ।
परीक्षाकेन्द्रमा निगरानी
एसईई परीक्षामा लाखौँ विद्यार्थी सहभागी हुन्छन् । सचिव दहालका अनुसार स्वास्थ्य मन्त्रालयसँग सहमति भए प्रत्येक परीक्षाकेन्द्रमा कम्तीमा एक स्वास्थ्यकर्मी राखेर निगरानी गरिनेछ। त्यस विषयमा स्वास्थ्य मन्त्रालयसँग छिटै छलपल गर्ने उनले बताए।
त्यसका लागि निजी र सरकारी दुवैथरी विद्यालयका प्रतिनिधि, स्थानीय सङ्घ र महासङ्घका प्रतिनिधि र उपत्यकाभित्र शिक्षा अधिकारीसँग पनि यो विषयमा कुरा भइसकेको उनले बताए । निजी विद्यालयहरूको सङ्गठन प्याब्सनको केन्द्रीय कार्यसमितिका सहअध्यक्ष डीके ढुङ्गानाले शैक्षिक सत्रबारे गरेको निर्णयले पाठ्यक्रमलाई खासै असर नपार्ने बताएका छन्।