मास्कको कालोबजारी गर्ने ६ फर्म कारबाही

तामसालिङ खबर
२२ फाल्गुन २०७६, बिहीबार ०९:४७

फाल्गुन २२, काठमाडौ – नेपालमा समेत कोरोनाभाइरसको जोखिम उच्च भइरहेका बेला मास्कमा कालोबजारी गर्ने विभिन्न ६ वटा फर्मलाई सरकारले कारबाही गरेको छ । मास्क, स्यानिटाइजर लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्ने ६ वटा कम्पनी तथा बिक्रेता कारबाहीमा परेका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि गरेको बजार अनुगमनका क्रममा बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । नेपाल केयरले मास्क भइभई पनि नभएको भन्दै कृत्रिम अभाव सृजना गर्दै बढी मूल्यमा विक्री गरेको पाइएको थियो ।

यस्तै बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ । विभागले त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ ।

यी विक्रेताले पनि बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेका थिए । यसअघि सोमबार विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*