म्युजिक नेपालको ब्रम्मालुट, रोयल्टी नदिई ठगी गर्दै

तामसालिङ खबर
६ माघ २०७६, सोमबार ०९:२०

माघ ६, काठमाडौं – म्युजिक नेपालले संगीतकर्मीलाई मात्रै होइन, चलचित्रकर्मी निर्माताहरूको पनि चरम शोषण गरेको पाइएको छ । निर्माताहरूसँग गीतरफिल्म लिने, तर त्यसको रोयल्टी नदिई उसले ठगी गर्दै आएको हो । उसको ठगीमा पर्नेमा पुरानादेखि नयाँ निर्मातासम्म परेका छन् ।

म्युजिक नेपालले क्यासेट र डिभिडी निकाल्ने भन्दै निर्माताहरूसँग सम्झौता गर्ने, तर ती गीत युट्युबमा राख्दा कपिराइट दाबी गर्दै आर्थिक शोषण गर्ने गरेको छ । उसले विनास्वीकृति चलचित्रका हजारौँ गीतमा कपिराइट दाबी गरेर कमाइ गर्दै आएको छ । संगीतकर्मी र चलचित्रकर्मीलाई शोषण गर्दै आएको म्युजिक नेपालको मासिक कमाइ एक करोड रुपैयाँभन्दा बढी रहेको एक निर्माताले बताए । निर्माता संघका पूर्वअध्यक्ष युवराज लामाले म्युजिक नेपालको चरम शोषणमा आफू पनि परेको बताए ।

‘पहिला म्युुजिक नेपाल लगायतका संस्थालाई क्यासेट, सिडी बिक्री गर्न भनेर दिने गरिन्थ्यो । अहिले सिडीको ठाउँमा आगामी पचास, सय वर्ष सम्म आउने प्रविधि माथि उहाँहरूले सोध्दै नसोधी व्यवसाय गरिरहनुभएको छ । मनग्य कमाइरहनुभएको छ । क्यासेट र सिडी बाहेक पेनड्राइभमा बजाउने अधिकार पनि उहाँहरूलाई छैन । इन्टरनेट त परै जाओस्,’ उनले भने । म्युजिक नेपालले चलचित्रका गीतका क्यासेट र सिडी निकाल्न भनी अधिकार लिने, तर पछि ती चलचित्रका गीतलाई युट्युबमा राखेर कपिराइट क्लेम गर्दै आएको छ । यस्तै मारमा निर्मात्री तथा नायिका श्वेता खड्का पनि परेकी छिन् ।

श्वेताले अभिनय गरेको पहिलो चलचित्र ‘कहाँ भेटिएला’ फिल्मको गीतको म्युजिक नेपालले क्यासेट र सिडी निकाल्न अधिकार लिए पनि पछि युट्युबमा राखेर कमाइ गर्दै आएको छ । ‘कहाँ भेटिएला’ मेरो पहिलो डेब्यु फिल्म हो । सन् २०१४ मा म्युजिक नेपालले युट्युबमा अपलोड गरेको रहेछ । युट्युब च्यानलमा ‘प्रोभाइडेड बाई ओएसआर डिजिटल प्रालि’ भन्ने छ । तर, सबै कपिराइट म्युजिक नेपालको छ ।

‘नुमाफुङ’ चलचित्रका निर्देशक नवीन सुब्बाले म्युजिक नेपालसँग कानुनी लडाइँ लड्ने तयारीमा रहेको जानकारी दिए । आफूहरूसँग कुनै सम्झौता नै नगरी ‘नुमाफुङ’ चलचित्र म्युजिक नेपालले युट्युबमा राखेको उनको भनाइ छ । ‘म्युजिक नेपालले ‘नुमाफुङ’ युट्युबमा अपलोड गरेको छ, तर हामीसँग सम्झौता नै गरेको छैन । त्यत्तिकै युट्युबमा हालिदिएको छ । अब सम्झौता नै नगरेपछि रोयल्टी पाउने कुरै हुन्न । हामी कानुनी लडाइँ लड्ने तयारीमा छौँ,’ उनले भने ।

‘बलिदान’ चलचित्रका निर्माता श्यामकुमार सापकोटा पनि म्युजिक नेपालबाट ठगिएका छन् । उनले म्युजिक नेपाललाई चलचित्रको गीतको क्यासेट निकाल्न अधिकार दिएका थिए । तर, उसले सोध्दैनसोधी युट्युबमा चलचित्र अपलोड गरेकोे सापकोटा बताउँछन् ।
०५२ सालमा चलचित्रको गीत रेकर्ड गराएर म्युजिक नेपाललाई अधिकार दियौँ । तर, त्यो अधिकार अडियो क्यासेट र सिडीका लागि मात्र थियो । आर्थिक वर्ष सकिएपछि हिसाब–किताब क्लियर गर्ने सम्झौता भएको थियो । वार्षिक कति क्यासेट बिक्री भए थाहै भएन । पाँच–सात वर्षपछि त मलाई खबर नै गर्न छाडे । वास्तविक रोयल्टी पनि देखाइएन अनि पछि मैले पशुपति रेकर्डस्लाई डिभिडी, भिसिडी बनाउने अधिकार दिएँ,’ सापकोटाले भने । नयाँ पत्रिकामा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*