डिजे, बारसहितकाे पार्टी बस काठमाडौँमा संचालन

तामसालिङ खबर
४ माघ २०७६, शनिबार ११:३०

काठमाडाैं – स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जन सहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ । बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय आदिको सुविधा रहेको पार्टी बस पहिलोपटक काठमाडौँ भित्र्याइएको हो ।

रियल इकोनोमिक सस्टेनेबल सोसाइटी नेपाल (रेस नेपाल) ले हालै उक्त बस भित्र्याइएको थियो । मनोरञ्जनको अतिरिक्त सुविधा चाहने पर्यटकलाई लक्षित गर्दै पार्टी बस सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अशोक शर्माले जानकारी दिए । पर्यटकका लागि फरक सुविधा तथा जन्मदिनको पार्टीलाई मध्यनजर गरी ल्याइएको पार्टी बसका निश्चित क्षेत्र निर्धारण गरिने र ट्राफिक नियमअनुसार सञ्चालन गरिने उनकाे भनाइ छ ।

एक साताभित्रै पार्टी बस काठमाडौँमा व्यावसायिक रूपमा सञ्चालन गरिनेछ । भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिललाई पार्टी गर्न मिल्ने थलोका रुपमा परिमार्जन गरिएको छ । बसभित्र सिट हुदैन । सोफा शैलीमा दुईतिर काउच राखिएको छ ।

यस वसमा एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् । बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरण सहितको बार रहेको छ । बसको अघिल्तिर डिजेले सङ्गीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिनेछ । निर्देशक शर्माका अनुसार यो पार्टी बसको प्रतिबस साढे तीन करोड पर्छ । परियोजनाका लागि सात करोडभन्दा बढी लगानी गरिएको छ ।

एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ । बस प्रयोग गर्न एक हजार प्रवेश शुल्क पर्छ । विशेष गरी बिहे र पर्यटकका लागि यो बस उपयुक्त हुनेछ । नेपाल भ्रमण वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको पार्टी बस क्रमशः अन्य पर्यटकीय गन्तव्यमा पनि लैजाने कम्पनीको योजना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*