गायक प्रकाश सपूत गण्डकी प्रदेशको सद्भावना दूत

तामसालिङ खबर
२० पुष २०७६, आईतवार ०८:२४

पुस २०, पोखरा – गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो ।

गायक सपूत सांगीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपूतले गण्डकी जस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए ।

गायक सपूतले आफ्नो र समग्र नेपाली साङ्गीतिक क्षेत्रको पहिचानलाई प्रदेश सरकारले मूल्याङ्कन गरेको धारणा राखे । “म अब जहाँ–जहाँ कार्यक्रमका सिलसिलामा पुग्छु, भ्रमण वर्षको प्रचार गर्नेछु”, उनले भने, “मेरा सिर्जनामा पनि नेपालका पर्यटकीय गन्तव्यका भिडियो र विषयवस्तु समेट्ने प्रयास गर्नेछु ।”

गायक सपूत अहिलेको नेपाली लोकसङ्गीत जगतमा सफल प्रतिभा हुन् । सपूतको ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत चर्चित छन् । केही महिनाअघि सार्वजनिक झ्याउरे शैलीको मौलिक लोकदोहारी गीत ‘गलबन्दी’ अहिलेसम्म युट्युवमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ ।

डेढ वर्षअघि सार्वजनिक ‘बोलमाया’ गीतले सपूतलाई एकाएक चर्चामा ल्याएको थियो । गायक सपूतसँगै म्याग्दीका कीर्तिमानी आरोही निर्मल पूर्जा पनि भ्रमण वर्ष २०२० को सद्भावना दूतका रुपमा नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले पनि भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*