इन्द्रसरोबरमा प्याराग्लाइडिङ उडान
पुस १७, हेटौडा (इन्द्रसरोबर) – तिन नम्बर प्रदेश सरकारले प्याराग्लाइडिङ मार्फत पर्यटन वर्ष २०२० को स्वागत गरेको छ । मकवानपुरको इन्द्रसरोबरमा प्याराग्लाइडिङको सफल परीक्षण उडान गरी मंगलबार अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरिएको हो ।
इन्द्रसरोबरको गुम्बाडाँडाबाट सफल उडान गर्ने प्यराग्लाइडर इन्द्रसरोबरका विशाल लामा र पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वतातवरणमन्त्री अरुण नेपालले माला लगाएर स्वागत गरे ।
इन्द्रसरोबर किनारबाट करिब पाँचसय मिटर उचाइमा रहेको गुम्बा डाँडाबाट प्याराग्लाइडिङ उडान गरिएको हो । प्याराग्लाइडर विशाल लामाका अनुसार करिब आधा घण्टा आकाशमा उडेर यस क्षेत्रका मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।
इन्द्रसरोबर प्रदेश ३ सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को उत्कृष्ट पर्यटकीय गन्तव्य हो । इन्द्रसरोबर बीच तालमा रहेको टापुमा हिन्दू र बौद्ध धर्मावलम्बीको धार्मिक गन्तव्य निर्माण गर्न प्रदेश सरकारको योजना छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपालले पोखरापछिको उत्कृष्ट गन्तव्य इन्द्रसरोबर बनाउन मन्त्रालयले योजनाबद्ध काम गरिरहेको बताए ।
एक सातामा करिब २ हजार आन्तरिक र बाह्य पर्यटकले इन्द्रसरोबर तालमा डुंगा चढेर रमाउने गरेको इन्द्रसरोबर गाउँपालिकाको तथ्यांक छ । पर्यटन वर्षलाई लक्ष्य गरी यस क्षेत्रमा एक दर्जन नयाँ होटल पनि थपिएको छ ।
इन्द्रसरोबर सँगै यस क्षेत्रमा रहेको चित्लाङ र दामन मकवानपुरको प्रमुख पर्यटन गन्तव्य हो । काठमाडौंबाट करिब दुई घण्टाको मोटरबाटोमा पुगिने इन्द्रसरोबरलाई जिल्ला समन्वय समिति मकवानपुरले पनि पर्यटन वर्ष २०२० का लागि जिल्लाको पहिलो पर्यटकीय छनोट गरेको छ । अन्नपुर्ण पोस्ट