काभ्रेको पनौती नगरपालिकामा पाडी वितरण, ८ सय ५२ कृषकको आबेदन

तामसालिङ खबर
११ पुष २०७६, शुक्रबार ०८:०५

पुस ११, पनौती – काभ्रेको पनौती नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा आत्मनिर्भर सँगै श्रोत केन्द्रका रुपमा विकास गर्ने उदेश्यले कृषकहरुलाई पाडी वितरण शुरु गरेको छ । वडागत रुपमा माग गरिएका ८ सय ५२ कृषक मध्ये चालु वर्षमा ३ सयलाई पाडी उपलब्ध गराईनेछ ।

‘नगरपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर भैसी संरक्षण र सम्र्वद्धन गर्न शुरु गरेको – नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । ‘पाडी संरक्षण नहुँदा भैसी खरिदमा लाखौ रकम जोगाउन पाडी वितरण महत्वपूर्ण हुने उनले बताए ।’

प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले गोलाप्रथाबाट छनौट भएकी भगवती सापकोटालाई पाडी हस्तान्तरण गर्नु भएको थियो । मुलुकको विकासका लागि भैसी संरक्षण अभियानले महत्वपूर्ण योगदान पुर्‍याउने प्रदेशसभा सदस्य हुमागाईले बताउनु भयो ।

पाडी खरिदका लागि नगरपालिकाले ई-विडिङ्ग मार्फत बोलपत्र प्रकाशन गरेको थियो । नगरपालिकाले पाडी खरिदका लागि दिलिपकुमार देउजाको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । वडा नम्वर १ मा ४२ जनाका लागि पाडी उपलब्ध गराएको छ । जसमध्ये पहिलो चरणमा गोलाप्रथाबाट २३ जनाले पाडी प्राप्त गरेका छन् ।

पशुपालन ब्यवसायबाट कृषकहरुको जीवनलाई सहज र सार्थक बनाई स्वाबलम्बी र ब्यवसाय बनाउने उदेश्यका साथ भैसीपालक कृषकहरुलाई पाडी वितरण गरी उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले कृषकहरुसमक्ष सम्झौता गरेको छ । कृषकहरुलाई पाडीपालन सम्वन्धी प्राविधिक तथा नीतिगत विषहरुमा अभिमुखिकरण गराएर मात्रै वितरण गरिएको कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताए ।

पाडी वितरणका समयमा आवश्यक पर्ने मिनरल औषधी तथा परजिवी नाशक औषधिको मिनिकिट प्याकेज उपलब्ध गराएको छ भने २ लाख रुपैयाको दुर्घटना विमा गरिएको छ ।

कृषकहरुले पाडी प्राप्त गरेबापत ५ हजार नगरपालिकालाई बुझाएका छन् । एक वर्ष माथी २ वर्ष भित्रको प्रजनन योग्य मुर्रा क्रस पाडी एउटा उपलब्ध हुनेछ भने पाडी ब्याए पछी नगरपालिकाले कृषकलाई भैसी सुत्केरी भत्ता बापत ५ हजार उपलब्ध गराउने बताएको छ । अघिल्लो आर्थिक वर्षबाट नगरपालिकाले शुरु गरेको भैसी भत्ता ५ सय ६७ भैसीपालक कृषकहरुले प्राप्त गरेका छन् ।

चालु वर्षमा वडा नम्वर १ मा ४२, वडा नम्वर २ मा ३५, वडा नम्वर ३ मा ३०, वडा नम्वर ४,५,६,८,९,१०,११ मा २०/२० वटा, वडा नम्वर ७ मा ३ वटा र वडा नम्वर १२ मा ५० वटा पाडी वितरण हुने प्रमुख प्रशाशकिय अधिकृत हरिप्रसाद चापागाईले बताउनु भयो । नेपाल समाचारपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*