मनाङको हिउँमा ‘प्रेमगीत-३’ को धमाधम छायांकन
पुस २, हेटौडा – बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत- ३’ को छायांकन हिमाली जिल्ला मनाङमा भइरहेको छ । अहिले मनाङमा हिउँ परिरहेकाले छायाङकनमा केही असहज भइरहेको निर्माता/निर्देशक सन्तोष सेनले बताए । तर, पनि माइनस २६ डिग्री सेल्सियसमा पनि टिमले कुशलता पूर्वक काम गरिरहेको उनले बताए ।
निर्माण टिमका अनुसार अब कुनै समस्या उत्पन्न नभएमा १०/१५ दिनभित्र फिल्मको सम्पूर्ण छायाङकन सकिने निर्माता सेनले बताए । आउँदो चैत्र २८ गतेबाट रिलिज हुने फिल्मको आधा छायांकन काठमाण्डौ मै सेट तयार पारेर गरिएको थियो ।
फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
राजेश श्रेष्ठले खिचिरहेको यो फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । साथै फिल्ममा कल्याण सिंह र एलिस कार्कीको संगीत रहनेछ । यस्तै फिल्ममा वनिष शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् । फिल्मका निर्माता सन्तोष सेन हुन् ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनिरहेको ‘प्रेमगीत–३’ आगामी चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिनेछ ।