राजधानीमा बिजुलीका तार भूमिगत गरिँदै

तामसालिङ खबर
२९ मंसिर २०७६, आईतवार ०८:०५

मंसिर २९, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुस देखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्य सहित यो काम थालनी गर्न लागिएको हो ।

नेपालमा पहिलो पटक विद्युतको तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी हप्तादेखि भूमिगत गरिने कार्य सुरु गरिनेछ । पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनका आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाका विद्युतका तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु हुने बताउनुभयो । तारलाई भूमिगत गर्नका लागि आवश्यक सामग्री र उपकरण काठमाडौँ आइपुगेको बताउँदै कार्यकारी निर्देशक घिसिङले भूमिगत गर्नका लागि सबै तयारी पूरा भइसकेको जानकारीसमेत दिनुभयो ।

तारहरूलाई भूमिगत गर्नका लागि मेलम्चीको जस्तो बाटो खन्न नपर्ने बताउँदै प्रवक्ता अधिकारीले यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ र त्यहाँबाट दुईवटा पाइप छिराइनेछ । ती पाइपमध्ये एउटामा विद्युतीय तार र अर्कोमा सञ्चार प्रयोजनका केबल तार छिराइने प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*