पाँचौ मिस तामाङ पोखराको प्रशिक्षण शुरु, माघ ४ गते फाइनल हुने

तामसालिङ खबर
२३ मंसिर २०७६, सोमबार ०९:४८

मंसिर २२, पोखरा – पाँचौ संस्करणको मिस तामाङ पोखरा तयारी शुरु भएको छ । सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष गरिदै आएको ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको तयारी शुरु गरिएको हो ।

आइतबार पोखरामा औपचारिक उदघाटन कार्यक्रम सहित शुरुवात गरिएको ४५ दिन सम्मको विभिन्न विधामा प्रशिक्षणमा यस बर्ष १७ जना प्रतियोगीहरुले सहभागिता रहेको कार्यक्रम संयोजक तथा मिस तामाङ पोखरा २०१८ का विजेता कविता योञ्जनले बताउनु भयो।

प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै नेपाल तामाङ घेदुङ गण्डकीका अध्यक्ष दीपक वाइवा तामाङले बढ्दो साँस्कृतिक अतिक्रमणको चपेटामा परेको मौलिक भाषा र संस्कृतिको जगेर्नाका लागि यस्ता कार्यक्रमले योगदान दिने बताए ।युवा पुस्ता माझ संस्कृति हस्तान्तरण र जानकारी आजको अपरिहार्य आवश्यकता रहेको उनले जोड दिए ।

प्रतियोगितामा अनिशा तामाङ, सरस्वती तामाङ, सृजना तामाङ, सुजाता तामाङ, कोमल तामाङ, आकृति भोलान, स्वस्तिका तामाङ, बिन्दु तामाङ, मनिषा गोम्जा तामाङ, रहेका छन् । यसैगरि शशीकला तामाङ, प्रिती तामाङ, रेनु तामाङ, सृजना तामाङ, अनु बल, भुमिका तामाङ, सुमिक्षा तामाङ, सलिना तामाङ र किस्मत तामाङ लगायत सहभागी रहेका छन् । सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइने समाजका उपाध्यक्ष जयन्ती मोक्तानले बताए ।

नेपाल तामाङ घेदुङ्ग पोखरा महानगर अध्यक्ष टेकबहादुर तामाङले मौलिक भेषभुषा, भाषा र संस्कार नै नरहे जाती नै नरहने भन्दै यसको संरक्षणका लागि युवा पुस्तालाई प्रेरित गर्नुपर्ने बताए ।

समाजका अध्यक्ष ज्याक तामाङले कैयौं व्यवधानका वावजुद पनि आफ्नो जातीको भाषा, धर्म तथा संस्कृति नयाँ पुस्ता माझ चिनाउन र अनन्त सम्म जिवित बनाइ राख्न कार्यक्रम गर्नु परेको सुनाए । पहिलो दिनको तालिममा प्रशिक्षक उपेन्द्र पौडेलले सफलताका सुत्रका विषयमा तालिम प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*