साग गेम – कँरातेको पुरुषतर्फ पहिलो स्वर्ण, महिला तर्फ रजत जित्दै नेपालले खाता खोलियो
मंसिर १६, काठमाडौँ – १३ औं साग खेलको कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् ।
मण्डेकाजीले २६.७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४.९२ अंक प्राप्त गरेका छन् । बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए । मण्डेकाजीले फाइनलमा पुग्नका लागि २४.०८ अंक प्राप्त गरेका थिए भने बंगलादेशी खेलाडीले २२.०८ अंक प्राप्त गरेका थिए ।
त्यस्तै, नेपाली खेलाडी चञ्चला दनुवारले कराँतेको महिला एकल काँता तर्फ रजत जित्दै नेपालको खाता खोलेकी हुन् । सोमबार भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी साहीदा सँग पराजित भइन् । साहीदाले २४.६२ अंक जोड्दा चन्चलाले फाइनलमा २४.६२ अंक ल्याउन सकिन् ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी हेत्तीले भुटानकी सोनामलाई पराजित गरिन् । बंगलादेशकी अख्तरले पनि कास्य जितिन् । पहिलो चरणमा समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी चञ्चलाले आफ्नो समूहमा रहेकी भुुटानकी सोनाम ल्हामो र बंगलादेशकी हुमाइरा अख्तरलाई पछि पारिन् ।
खेलमा चञ्चलाले २४.०२ अंक जोडेकी हुन् । सोनामले २०.४२ अंक जोड्दा अख्तरले २१.६ अंक ल्याइन् ।