देशको गौरव उच्च राख्ने, १३ औँ साग खेल राष्ट्रपति भण्डारीद्वारा उदघाटन
मंसिर १६, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आइतबार साझा भव्य रुपमा उदघाटन भएको छ । दशरथ रंगशालामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उदघाटन गरेकी हुन् ।
सागको उदघाटनका क्रममा नेपालको झण्डा भारोत्तलनका ओलम्पियन कमलबहादुर अधिकारीले बोकेका छन् । अधिकारी दशैं सागका स्वर्ण पदक विजेता समेत हुन् । यस्तै, कीर्तिमानी खेलाडी दीपक विष्टले सागमा ओलम्पिक दीप प्रज्वलन गरेका छन् । भव्य उदघाटन समारोहमा नेपालसहित सहभागी राष्ट्रले आफ्नो देशको संस्कृति, कला र पहिचान झल्कने झाँकी समेत प्रदर्शन गरेका छन् ।
समारोहमा ७ हजार ५ सयको सङ्ख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् । समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ ।
समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालकोे नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइने कार्यक्रम रहेको छ । काठमाडाैं, पोखरा र जनकपुरमा आइतबार देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ ।
सागलाई सफल बनाउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।
सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।