उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

तामसालिङ खबर
१९ कार्तिक २०७६, मंगलवार ०९:१९

कार्तिक १९, काठमाण्डौ – राष्ट्रिय सुरक्षा परिषद्ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सुरक्षा परिषद् बैठकले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएको हो । परिषद्को यो निर्णयसँगै अब सुरक्षा परिषद्‌बाट स्वीकृत विषय मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सेनाको नेतृत्वमा चुनावी सुरक्षा कार्ययोजना लागू गर्ने बाटो खुल्ने छ ।

नेपालको संविधान २०७२ अनुसार सुरक्षा परिषद‍्बाट निर्णय र मन्त्रिपरिषद्‌बाट स्वीकृत भई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्न सक्ने व्यवस्था छ । यो निर्णयसँगै चुनावका लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नेतृत्व र नियन्त्रणमा रहने गरी सेना परिचालन हुने भएको छ ।

आयोगले निर्वाचनमा सेना र प्रमुख जिल्ला अधिकारीको भूमिका स्पष्ट हुने गरी निर्णय गर्न सरकारलाई निर्देशन दिएको थियो । ३७ जिल्लामा प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तह प्रमुख ४, उपप्रमुख १ र वडाअध्यक्ष ४३ गरी ५३ पदका लागि मंसिर १४ गते निर्वाचन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*