जनयुद्धका २ पूर्वलडाकु, फूल उत्पादनमा रमाउँदै

तामसालिङ खबर
१० कार्तिक २०७६, आईतवार ०६:३९

कार्तिक, हेटौंडा – तत्कालीन माओवादीको सशस्त्र जनयुद्धका क्रममा मोर्चा सम्हालेका मकवानपुरका दुई पूर्वलडाकु मौसमी उत्पादन फूल खेतीमा रमाउन थालेका छन् । ०५४ सालबाटै युद्धमा होमिएका हेटौंडा ६ चौघडाका बालकृष्ण चौलागाई र हेटौंडा १२ का वडा अध्यक्ष समेत रहेका ललित घलान व्यवसायिक फूल खेतीमा लागेका हुन् ।

पछिल्लो समय प्रदेश सरकारले भारतबाट भित्रीएका सयपत्री फूललाई निरुत्साहित गर्नका लागि स्थानीय तहमा नै फूल खेती गर्नुपर्ने घारणा राखेसँगै मकवानपुरका दुई जनयुद्धका कमान्डर सहित अन्य किसान पनि व्यवसायिक फूल खेतीमा लागेका छन् ।

समयअनुसार फूलको माग बढ्दै गएपछि अहिले मकवानपुर फूल खेतीमा आत्मनिर्भर देखिन थालेको छ । विभिन्न समयमा हुने कार्यक्रममा जनयुद्धका कमान्डरहरुले थालेको व्यवसायिक फर्मबाट फूलको मागलाई धान्ने गरिएको छ भने अन्य चाडपर्वका समयमा आवश्यकता अनुसार अन्य किसानले पनि खेती गर्ने गरेका छन् ।

मकवानपुरमा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरु बढ्दै गएका छन् । फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि तिहारका लागि मात्र नभएर वर्षैभरी फूलखेती गरेर राम्रो आम्दानी लिने किसानहरु बढ्दै गएका हुन् ।

हेटौंडा १२ का वडा अध्यक्ष समेत रहेका ललित घलानले ५ कठ्ठा जमिनमा व्यवसायिक खेती गर्दै आएका छन् । उनले यसवर्ष फूलबाट मात्रै करिब ३ लाख रुपियाँ बराबरको आम्दानीको अपेक्षा गरेको बताए ।

जनयुद्धमा होमिएका हेटौंडा ६ चौघडाका बालकृष्ण चौलागाईले व्यवसायीक फर्म दर्ता गरेर खेती थालेका छन् । उनले यस वर्ष आफूले खेती गरेको बाहेक बाहृय किसानले गरेको फूलको उत्पादनलाई आफैंले संकलन गरेर बिक्री थालेका छन् । सबै गर्दा यो सिजनमा ५ लाख रुपियाँ बराबरको बिक्रीको आँकलन रहेको उनले बताए ।

मकवानपुरको मनहरीका हरिशरण अर्यालसहित जिल्लामा व्यावासयिक रुपमा फूल खेती गर्ने किसानहरुको संख्या बढेको छ । पहिले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत फाखेलमा मात्र फूल खेती गरिँदै आएको भएपनि पछिल्ला वर्षमा मकवानपुरको दशवटै स्थानीय तहमा तिहारलाई लक्षित गरेर फूल खेती गरिँदै आएको छ ।

नेपालमा पुष्पखेतीको राम्रो सम्भावना रहेको र छोटो सयममै राम्रो आम्दानी पाईने भएकाले पुष्पखेती गरिएको उनीहरुको भनाइ  छ । अनलाइन खबरको लागि राजन दाहालले लेखेको समाचार हामीले साभार गरेका हौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*