हेटौंडाको मुख्य बजारबाटै दुई वटा बाइपास राजमार्ग हुने

तामसालिङ खबर
८ कार्तिक २०७६, शुक्रबार ०८:००

कार्तिक, हेटौडा – मकवानपुरको सदरमुकाम हेटौंडाको मुख्य बजार क्षेत्रमा पर्ने दुई वटा ठूला राजमार्गलाई बाइपास गरिने भएको छ। नेपाल सरकारले एसियन हाइवे मापदण्ड अनुसार हेटौंडा बजारको बस्ती भत्काएर सडक चौडा वा बस्ती संरक्षण गर्दै राजमार्गलाई बजार बाहिरबाट लैजाने लामोसमयको बहसपछी मुख्य बजारबाट राजमार्ग बाइपास गरिने भएको हो। यद्यपि बजार क्षेत्रमा एसियन हाइवेको मापदण्डअनुसार सडक चौडा गरिने वा नागरिने भन्ने विवाद अझै जारी छ ।

३ नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले २०७६ र ७७ मा हेटौंडा–१, चौकीटोलदेखि हेटौंडा–१०, कर्रा खोलासम्मको १२ किलोमिटर सडकखण्डलाई स्तरोन्नति गरी बाइपास गर्ने भएको छ । यस खण्डको लागत करिब १५ करोड रुपैयाँको अनुमान गरिएको छ। तत्काल नै भने ट्र्याक खोल्ने काम मात्रै हुनेछ। दुवैतर्फको ट्र्याक खोल्ने काम दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ।

संघीय सरकारले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौंडा सडकखण्डको दायाँ–बायाँ २५ मिटर सडक विस्तार गर्ने नीति अवलम्बन गरेसँगै प्रदेश सरकारले त्यसको विकल्पका रूपमा बाइपास सडकको स्तरोन्नति गर्न लागेको हो। पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्दा अर्बौंको क्षति हुने, व्यापारर व्यवसाय र हेटौंडाको सौन्दर्य हराउनेभन्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा भौतिक पूर्वाधार मन्त्रालय बाइपास सडक निर्माणमा जुटेको छ।

मन्त्रालयले बाइपास सडकलाई चौकीटोल–राप्तीपुल र राप्तीपुल–कर्रा गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउने भएको छ। पहिलो चरणमा चौकीटोल–राप्तीपुल र दोस्रो चरणमा राप्तीपुल–कर्रा सडक गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउन लागेको मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पौडेल आफैंले सम्हालिरहेका छन्।

‘हेटौंडाको बजार क्षेत्रमा सडकको विस्तार गर्नुपर्छ तर, विकासको नाममा विनाश हुनु हुँदैन। हेटौंडा बजार क्षेत्र दायाँबायाँ १६ र१६ मिटर विस्तार गर्ने र बाइपास सडक पनि बनाउने अभियानमा प्रदेश सरकार रहेको छ,’ मुख्यमन्त्री पौडेलले भने, ‘हेटौंडा बजारलाई बचाउनुपर्छ। यसका लागि बाइपास सडकको विकल्प छैन । मुख्यमन्त्री पौडेलले कुनै पनि सहरमा बजारको मध्यभागबाट राजमार्ग नगएको बताउँदै भने, मानवीय सवाल पहिलो हो, त्यसकारण बजार क्षेत्रको पनि विस्तार गर्ने र बाइपास पनि बनाउने अभियानमा हामी रहेका छौं।

भौतिक पूर्वाधार मन्त्रालयले करिब २२ करोड रुपैयाँ लागत अनुमान गरेर हेटौंडा–१, चौकीटोलदेखि राप्तीपुलसम्म टेण्डर आह्वान गरिसकेको छ। गत आर्थिक वर्षमा यस सडक खण्डका लागि पाँच करोड रुपैयाँ विनियोजन भएकोमा उक्त रकम फ्रिज भएको र चालु आवमा १० लाख रुपैयाँ थप बजेट प्राप्त भएको छ।

सडक खण्डमा ग्याबिन लगाउँने, आरसीसी पर्खाल लगाउँने र दायाँबायाँ ५० मिटर क्षेत्र कायम गरी तत्कालका लागि १० मिटरको बाटो निर्माण गरिने छ। यता हेटौंडा–१०, राप्तीपुलदेखि कर्रा खोलासम्मको आठ किलोमिटर सडक खण्डको डीपीआर निर्माण कार्य सम्पन्न भइसकेको छ । नेपाल न्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*