प्रदेश सरकारले हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण गर्ने

रिपेश दाहाल/रासस
५ कार्तिक २०७६, मंगलवार ०९:०४

कार्तिक, हेटौंडा – बहुचर्चित हेटौंडा–काठमाडौं सुरुङमार्ग प्रदेश ३ सरकार आफैंले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौंडा काठमाडौंलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ ।

सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भएपनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन तर यस वर्ष भने कानूनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैंले केन्द्र र स्थानीय तहसँग समेत सहकार्य गर्ने गरी काम शुरू गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार आगामी ३ महिनाभित्र बोलपत्रसमेत आह्वान गर्ने तयारी भइसकेको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने परियोजना निर्माणका लागि १२ अर्ब रुपैयाँसम्म लगानी लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसमेत सुरुङमार्ग निर्माणको पक्षमा छन् । प्रदेशको गौरवको आयोजनासमेत भएकाले सरकारको यही कार्यकालमा सम्पन्न हुने गरी काम थालिने गर्ने तयारी गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

प्रदेश ३ को राजधानी हेटौंडा र देशकै राजधानी काठमाडौंलाई सहज ढंगले जोड्ने तथा देशको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको मुख्यमन्त्री पौडेलको भनाइ छ । नेपालको दीर्घकालीन विकासको कोसेढुंगा हुने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको उनी बताउँछन् ।

उनका अनुसार मार्ग कुन ढाँचामा निर्माण गरिने भन्ने प्राविधिक तयारी सकिएको छ । हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे ३ किलोमिटर सुरुङ खनिने तथा हेटौंडा–भीमफेदी सडक र सिस्नेरी काठमाडौंलाई फराकिलो बनाइने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए ।

सुरुङमार्ग निर्माणपछि हेटौंडा–काठमाडौंको झञ्झटिलो र घण्टौंको यात्रा समय घटेर १ घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौंसम्मको यात्रा अवधि तथा आर्थिक बचत समेत गराउने उनको विश्वास छ । सुरुङ राजमार्गले हेटौंडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रदेश ३ सरकारको परियोजनामध्ये सबैभन्दा महत्त्वपूर्ण परियोजनाको रूपमा रहेको सुरुङमार्ग निर्माण पूर्वको सम्पूर्ण काम लगभग सकिएको र अब ३ महिनाभित्र बोलपत्र प्रक्रियामा जाने भौतिक पूवाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी   दिए ।

भारतबाट हाल अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौं पुर्‍याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने योजना रहेको जनाइएको छ । ७२ किलोमिटरमा अमलेखगञ्ज–काठमाडौं पाइपलाइन विस्तार गर्न सकिने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । पाइपलाइनले पनि देशको ठूलो ढुवानी खर्च बचत गर्ने उनको भनाइ छ ।

अर्थशास्त्री पौडेलका अनुसार सो मार्गको सञ्चालनपछि देशको इन्धन र स्पेयरपाट्र्समार्फत खर्च हुने वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकम बचत हुने, समय र ऊर्जा यात्राको अवधिसमेत बचत हुने तथा सडक मर्मत लागतमा कटौती हुने, राजधानी काठमाडौंको जनघनत्व विस्तार भइ सन्तुलन कायम हुने, काठमाडौंका उद्योगधन्दामा कम ढुवानीमा कच्चा पदार्थ पुर्‍याउन सकिने हुँदा उत्पादन लागत कम हुनेलगायत थुप्रै फाइदा रहेको उनले बताए ।

सुरुङमार्गको सम्भाव्यता तथा समग्र विषयमा अध्ययन गर्न बनेको विशेष टोलीले आफ्नो प्रतिवेदनसहितको प्रस्तुतीकरण गरेको र तिहारपछि थप सम्पूर्ण तयारी सहितको प्रस्तुतीकरण हुने उनले बताए । रिपेश दाहाल/रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*