मकवानपुरका स्थानीय तहले आफ्नै भवन बनाउँदै

तामसालिङ खबर
१ कार्तिक २०७६, शुक्रबार ०८:५८

कार्तिक १, हेटौडा – मकवानपुरको स्थानीय तहले कार्यालय सञ्चालनका लागि भवन निर्माण कार्यलाई तीव्रता दिएका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भइसके पनि धेरै गाउँपालिकाले भवन अभावका कारण भाडामा बसेर नै सेवा प्रवाह गरिरहेका थिए ।

जिल्लामा १० स्थानीय तहमध्ये अधिकांश स्थानीय तह भाडाका भवनमा सञ्चालन भइरहेको र आफ्नो भवन नहुँदा कार्य सञ्चालन र सेवा प्रवाह समेतलाई समस्या परिरहेका कारण स्थानीय तहले भवन निर्माणको क्रमलाई तीव्रता दिएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

जिल्लाको सबैभन्दा ठूलो हेटौँडा उपमहानगरपालिकाले आफ्नै पुरानो भवनबाट कार्य सञ्चालन गरिरहेको छ तर थाहा नगरपालिकाले भर्खरै बनेको नयाँ भवनमार्फत कार्यसञ्चालन गर्दै आएको छ ।

भवन अभावले गुज्रिएका जिल्लाका अन्य आठ वटा गाउँपालिकाले अहिले आफ्ना सुविधा सम्पन्न र वर्तमान संरचना अनुकूल भवन निर्माण गरिरहेका छन् । चालू आर्थिक बर्षमा प्रायः सबै स्थानीय तहले कार्यालय भवन निर्माणलाई नै प्राथमिकतामा राखेका छन् ।

गत आव देखि नै जिल्लाको पूर्वी वाग्मती गाउँपालिकाले कार्यालय भवन निर्माणपश्चात् सोही भवनबाट सेवा सञ्चालन गरिरहेको छ भने यसै वर्षदेखि बकैया गाउँपालिकाले पनि नवनिर्मित भवनमा कार्यालय सारिसकेको उक्त गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिकाले भने अहिलेसम्म भवन निर्माण शुरु नगरेको तर चालू आर्थिक वर्षमा नै शुरु गर्ने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयोे । चालु आवमा भवन निर्माणका लागि रु चार करोड बजेट विनियोजनसमेत गरिएको उहाँको भनाइ थियो ।

यसैगरी कैलाश गाउँपालिकाले पनि आफ्नो भवन निर्माणका लागि रु एक करोड ५० लाख विनियोजन गरेको छ भने मकवानपुरगढी गाउँपालिकाले पनि आफ्नै भवन बनाउने तयारीमा रहेको, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकाले पनि चालू आर्थिक वर्षमै भवन निर्माण गर्ने भएको र भीमफेदी गाउँपालिकाको भवन निर्माणको काम धमाधम भइरहेको जनाइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*