संसद तामाङको पहलमा टोखा-छहरे सुरुङको डिपिआर तयार पार्न रकम बिनियोजन
असोज ३०, नुवाकोट – काठमाडौं–रसुवा–केरुङ सडकमार्ग सँगै दुई खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने समझदारी भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा छहरे-टोखा र बेत्रावतीदेखि रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–२, घट्टेखाला सुरुङमार्ग बनाउने समझदारीप्रति प्रतिनिधि सभाको संसद हितबहादुर तामाङले खुसी प्रकट गरेका हुन् ।
नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद रहेका तामाङले आर्थिक वर्ष ०७५/७६-०७६/७७ मा बजेट विनियोजनका लागि पहिलो नम्बर मै छहरे-टोखा टनेल बनाउन राखिएको माग कार्यान्वयन तर्फ अघि बढेको बताए ।
उनले आफ्नै पहलका कारण चालु आव छहरे-टोखा सुरुङ मार्गको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नका लागि ४० लाख बजेट छुट्याइसकेको पनि उल्लेख गरे।
‘मैले निर्वाचित भएर आएकै वर्षमा ०७५/७६ को वार्षिक कार्यक्रममा पार्नको लागि मागहरु पेस गर्दा पहिलो नम्बरमै राखेर पेस गरेको थिएँ,’ सांसद तामाङले भने, ‘त्यही साल वार्षिक कार्यक्रममा शीर्षक उल्लेख भएर आयो । ०७६/०७७को वार्षिक कार्यक्रमको लागि पनि फेरि १ नम्बरमै राखेर माग गरेको थिएँ ।
डिपिआरको लागि भनेर ४०लाख बजेट छुट्टिएर आएको छ ।’ उनले थपे, ‘मागपत्र पेस गर्दा यसको महत्त्वबारे जति सोचेका थियौं अहिले यसको महत्त्व धेरै गुणा बढेको महसुस भएको छ।’