तिन नम्बर प्रदेश सरकारले मनहरीमा कागज उद्योग स्थापना गर्ने तयारी

तामसालिङ खबर
३० आश्विन २०७६, बिहीबार १२:०४

असोज ३०, हेटौंडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा तिन नम्बर प्रदेश सरकारले कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अगाडि बढाइएको जनाइएको छ ।

करिब दुई अर्ब लगानीमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए ।

उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि रु ५० लाख छुट्याएको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने ‘मोडालिटी’ बनाएको बताए ।

प्रदेश सरकारले निर्माण गर्न लागेको कागज फ्याक्ट्रीका लागि जग्गा अभाव नहुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

मनहरीमा सरकारी जमिन ८ हजार रोपनी नाप जाँच गरिएको छ । अरु सरकारी जमिन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*